सिरिजङ्गाको बजेट अधिबेशन असार ८ मा,पाथीभरा याङवरकले दियो वडालाई बजेटको सीमा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ५। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको बजेट अधिबेशन असार ८ गतेका लागि तय भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार असार ८ गते सोमबारका दिन गाउँसभा बर्षे अधिबेशनको बैठक आवह्वान गरिएको छ । पालिकाले बजेट अधिबेशनको तयारी र अधिवेशन केन्द्रित हुनुपर्ने भएकोले असार ७ गते देखि असार ९ गतेसम्म भुक्तानीका प्रकृया नहुने समेत जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार प्रमुख प्रशासकीय अधिकृत,योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख,राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख,सूचना प्रविधि अधिकृत,जिन्सी शाखा प्रमुख लगायतका कर्मचारी सो बजेटसभा अधिबेशनको तयारीका लागि संशोधित बजेट,अन्य नीतिगत निर्णय तथा बेरुजु फस्र्योट सम्वन्धी काममा व्यस्त रहनुपर्ने र गाउँसभा अधिबेशन समेत मौजुदा कर्मचारीबाट सम्पादन गर्नुपर्ने भएकोले असार ७ देखि ९ गतेसम्म भुक्तानीका कार्य नहुने गाउँपालिका प्रशासनले जनाएको छ । ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिकाले असार ७ गते र मैवाखोला गाउँपालिकाले असार ९ गते बजेट ल्याउने तयारी गरेका छन् । आठराई त्रिबेणी,फुङलिङ नगरपालिका सहितका स्थानीय तहले भने असार १० गते नै आगामी आवको बजेट अधिबेशन सुरु गर्ने भएका छन् ।
यसैबिच पाथीभरा याङवरक गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि पालिकाका ६ वटै वडामा बजेटको सिलिङ दिएको छ । पालिकाका स्वकीय सचिवालय संयोजक तेजवीर मेन्याङ्वोका अनुसार वडा नं १ नाङखोल्याङ र वडा नं २ थेचम्बुले समान ७०–७० लाख रुपैयाँको बजेट सिलिङ पाएका छन् । मेन्याङ्वोका अनुसार वडा नं ३ तिरिङ्गे ५४ लाख,वडा नं ४ डुम्रिसेले ४४ लाख,वडा नं ५ चाक्सिबोटेले ३० लाख र वडा नं ६ थुम्बेदिनले ५२ लाख रुपैयाँको बजेट सिलिङ पाएका छन् । यसअघि आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकाले वडागत बजेट सिलिङ दिई सकेका छन् । फुङलिङ नगरपालिकाका केहि वडाका वडाध्यक्षले भने बजेटको सिलिङ कम भएको भन्दै प्राप्त सिलिङउपर असन्तुष्टी जनाएका छन् । वडागत सिलिङ कति हो भन्ने बारेमा भने केहि केहि जानकारी बाहिर आएको छैन ।