महिला स्वास्थ्य स्वयंसेसविकलाई आधारभूत स्वास्थ्य दक्षता अभिवृद्धि तालिम चलाउँदै आठराई त्रिबेणी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रारम्भिक स्वास्थ्य परीक्षण दक्षता अभिवृद्धि सम्बन्धी तालिम दिने घोषणा गरेको छ ।

बिहीवार पालिकाको केन्द्र वडा नं ३ हाङपाङमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) अघिल्लो वर्षनै यो कुरा उठेपनि त्यसको सम्भाव्यता अध्ययन पूरा नभएकोले आउँदो बजेट अधिवेसनमार्फत महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता सुधारको कार्यक्रम ल्याइने बताउनुभयो । आठराई त्रिवेणीले महिला स्वास्थ्य स्वयंसेविकालाई चाडपर्व खर्च वापत जनही ५ हजार र रुपैयाँ उपलब्ध गराउँदै आएको,सञ्चार खर्च र वीमाको ब्यवस्था गरिएको र अवकासका क्रममा सेवाका आधारमा एकमुष्ट प्रोत्साहन रकम सहित बिदाइको व्यवस्था गरेको पालिका अध्यक्ष पोमूका स्वकीय सचिव लेखानाथ भट्टराईले जानकारी दिनुभयो । पालिका भरीमा ७३ जना महिला स्वास्थ्य स्वयंसेविका रहनु भएको छ ।

पालिकाले स्थानीय उत्पादनलाई बृद्धि गर्ने र उत्पादनका आधारमा शीत भण्डार निर्माण गर्ने योजना बनाएको पालिका अध्यक्ष पोमूले बताउनुभयो । रैथानेवाली प्रवद्धन गर्न पालिकाले चालु आर्थिक वर्षमा २ करोड १ लाख ४५ हजार रुपैयाँ बिनियोजन गरी कार्यक्रम कार्यान्वयन गरिरहेको बताउँदै पालिका अध्यक्ष पोमूले अनुदान सहभागिताका लागि कृषक अनिच्छुक देखिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । पालिकाका ३३ विद्यालय मध्ये ६ वटामा शुद्ध खानेपानीका लागि फिल्टरको प्रवन्ध गरिएको र बाँकी विद्यालयमा फिल्टरको प्रबन्ध गर्ने योजना रहेको पालिका अध्यक्ष पोमूले बताउनुभयो । पालिकाले शिक्षा,स्वास्थ्य,खानेपानी विद्युत,सडक,भवन र पूर्वाधारका काममा ध्यान दिएको पोमूले जानकारी दिनुभयो ।

पोमूले पानीको मुहान सुनिश्चित गरेर आए पालिकाले पाइप सहित अन्य आवश्यक प्रवन्ध गर्ने पालिका अध्यक्ष बताउनुभयो । उहाँले जेसिभी,पालिकाको चारपाङ्गे सवारी र एम्बुलेन्स सहित पालिकाका सवारी पुराना रहेको र आफुहरु निर्वाचित भएपछि नयाँ सवारी खरिद नगरेको स्मरण गराउँदै पुराना सवारीका कारण मर्मत खर्च केहि बढी आएको समेत जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई अन्तरगत शुक्रवार पालिकाको वडा नं ४ चाँगेमा कार्यक्रमको आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले जानकारी दिनुभयो ।

राजवंशीका अनुसार शनिवार पालिकाको वडा नं ५ मा सार्वजनिक सुनुवाई कार्यक्रम गरेसंगै चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाई सम्पन्न हुने छ । पालिकाले विगत ४ बर्षदेखि लगातार रुपमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ । पालिकाले असार २ गते वडा नं १ निघुरादिन,असार ३ गते वडा नं २ फुलवारी र असार ४ गते पालिकाको केन्द्र रहेको वडा नं ३ मा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको छ ।

Similar Posts