क्यूआर भौतिक रुपले उपस्थित भएर पूजा गर्न नसक्ने भक्तजनको मागको सम्बोधन:पाथीभरा क्षेत्र विकास समिति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २९ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा देवीका नाममा भेटि दान कवोल गरेको रकम भौतिक रुपले उपस्थित भएर पूजा गर्न नसक्ने भक्तजनको मागलाई सम्बोधन गर्न क्यूआर प्रणाली सुरु भएको बताएको छ ।

क्यूआर प्रणाली सुरु भएपछि यसको पक्ष र बिपक्षमा सामाजिक सञ्जालमा बहस हुन थालेपछि समितिले पत्रकार सम्मेलनमार्फत आफ्नो प्रष्टीकरण दिएको हो । मन्दिरका भक्तजनले चढाएको भेटि भन्दा पनि मन्दिरका लागि सहयोग गर्न इच्छुक दाताहरुको अनुरोधका आधारमा पाथीभरा मन्दिरमा ‘क्यूआर’सेवा प्रारम्भ गरेको समितिले बताएको छ । पाथीभरा क्षेत्र विकास समितिले क्यूआर भक्तजनको भेटिमा केन्द्रित नभई मन्दिरका लागि सहयोग गर्ने इच्छा राख्नेहरुका लागि भएको बताएको हो ।‘भेटि पनि क्यूआर गर्नुपर्छ भन्ने कुरा होइन,भेटि मन्दिरमा चढाए हुन्छ,तर जसले मन्दिरका लागि सहयोग गर्न खोज्नु हुन्छ,उहाँहरुले पहिलेबाटै क्यूआरको माग गरिरहनु भएकोले हामीले त्यस आधारमा क्यूआरको प्रवन्ध गरेका हौं’पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले भन्नुभयो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पाथीभरा मन्दिरमा क्यूआर आकस्मिक रुपमा राखेको नभई २०८० साल मंसिर १५ गते भएको सर्वपक्षिय अनुगमनका क्रममा प्राप्त भएको सुझाव कार्यान्वयन गरिएको बताउनुभयो । क्यूआरमार्फत सहयोग गर्छौ भन्नेहरुले क्यूआरको प्रयोग गर्न पाउने सुविधा मात्र प्रदान गरेको हाङवाङले बताउनुभयो । मन्दिरमा भेटि चढाउने चलन पुरानै भएको यो क्रम निरन्तर रहि आएको समितिले बताएको छ । ‘क्यूआरमै भेटि खसाल्नुपर्ने अनिवार्य होईन,सहयोग गर्न इच्छा भए क्यूआरको सुविधा लिन सक्ने गरीको प्रवन्ध मात्र गरेका हौं’हाङवाङले भन्नुभयो ।

संकलित भेटिपातिको मासिक रुपमा आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिले उक्त क्यूआर कोडमार्फत दाताहरुले पठाएको रकम सोझै भेटिपाति खातामा जम्मा हुने बताएको छ । बिद्युतीय माध्यमद्धारा सहयोग गर्न चाहनेहरुको मागको आधारमा क्यूआर सेवा उपलब्ध गराएको क्षेत्र विकास समितिका अध्यक्ष थेबे बताउँनुहुन्छ । उहाँले क्यूआरको प्रयोग अनिवार्य नभई स्वेच्छिक भएको समेत बताउनुभयो । कार्यकारी निर्देशक हाङवाङले कतिपय दर्शनार्थीले क्यूआर सुरु गरे आफुहरुलाई सहयोग गर्न समेत सहज हुने मनशाय राखेकोले क्यूआर प्रणालीको योजना अघि बढाईएको जानकारी दिनुभयो । क्षेत्र विकास समितिले क्यूआर बारे समर्थन र बिरोधको रुपमा बिभाजित भएकोप्रति दुःख समेत प्रकट गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts