७५ प्रतिशत अनुदानमा कफीका बिरुवा दिदैं फक्ताङलुङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाका किसानलाई ७५ प्रतिशत अनुदानमा कफीका बिरुवा दिने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन ढुङ्गेलका अनुसार वडा नं १ देखि वडा नं ६ सम्मका लाभग्राहीलाई कफीका बिरुवा दिईने छ । कफीका बिरुवा लिन इच्छुक लाभग्राहीहरुले साउन १४ गते भित्र सम्वन्धित वडा कार्यालयमा गई आबेदन दिनुपर्ने पालिकाले जनाएको छ । कफीका बिरुवा बितरण अघि पालिकाले साउन १६ गते कफी खेति सम्वन्धी अभिमुखीकरण सञ्चालन गर्ने भएको छ । कफीका बिरुवा प्राप्तिका लागि आबेदन दिएका र कफी खेति सम्वन्धी अभिमुखीकरणमा सहभागी भएकाहरुलाई मात्र बिरुवा बितरण गरिने पालिकाले जनाएको छ ।

पालिकाले आफ्नो स्वामित्वमा रहेको छिरुवास्थित एकीकृत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्रमा कफीका बिरुवा बितरण गर्ने तयारी गरेको छ । किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरी कार्यान्वयनमा ल्याएको छ । रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले खेतीयोग्य जमिन तथा माटोको उर्वरा शक्तिमा ह्रास आइरहेको अवस्था समेतलाई दृष्टिगतगरि अनुसन्धान केन्द्रको स्थापना गरी कार्यान्वयनमा रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले बताउनुभयो । परम्परागत कृषि प्रणालीबाट आधुनिकतातर्फ उन्मुख गराई उनीहरूको जीविकोपार्जनमा सहयोग गर्ने मुख्य उद्देश्य राखेर एकीकृत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्रको अवधारणा अनुरुप उक्त केन्द्रमार्फत किसानलाई प्रविधि र बीऊबिजन समेत उपलब्ध गराउने गरिएको छ ।

Similar Posts