मैवाखोलामा घुम्ती शिविरबाट पाँच हजार सेवाग्राही लाभान्वित
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमार्फत पाँच हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । गाउँपालिकाले वडा वडामा पुगेर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
पालिकाका छ वटै वडामा घुम्ती शिविर सम्पन्न हुँदा कुल पाँच हजार २४ जनो सेवाग्राही लाभान्वित भएका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार गाउँपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवाहरु घुम्ती शिविरमार्फत प्रवाह गरिएको थियो ।
बुधबार अन्तिम दिनको घुम्ती शिविर पालिकाको प्रशासकीय केन्द्र रहेको वडा ३ साँघुमा सञ्चालन गरिएको छ । साँघुमा सञ्चालन गरिएको शिविरमार्फत ८२६ जना सेवाग्राही लाभान्वित भएका छन् । यसअघि वडा १ ढुंगेसाँघुमा ८८३ जना, वडा २ मा ८३८ जना र वडा ४ ताम्राङमा ८२३ जना सेवाग्राही लाभान्वित भएका थिए । त्यस्तै वडा ५ फाकुम्बामा ८३० जना र वडा ६ साङ्लुपामा सञ्चालित घम्ती शिविरमार्फत ८२४ जना सर्बसाधारण सेवाग्राहीले सेवा लिएका थिए ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार पालिका कार्यालयअन्तर्गत प्रशासन, कृषि विकास, स्वास्थ्य, पञ्जीकरणलगायत विभिन्न १३ शाखाबाट प्रदान हुने सेवाहरु शिविरमार्फत प्रवाह गरिएको छ । प्रशासन शाखाअन्तर्गतको सेवा सबैभन्दा बढी एक हजार १४४ जना सेवाग्राहीले लिएका गोम्देनले जानकारी दिनुभयो ।
उहाँका अनुसार घुम्ती शिविरमार्फत कृषि विकास शाखाबाट प्रवाह हुने सेवा ८८२ जना, पशु शाखाबाट ८०८ जना र पञ्जीकरण शाखाबाट प्रवाह हुने सेवा ६०५ जनाले लिएका छन् । पालिकाले वडा वडामा घुम्ती शिविर सञ्चालन गरेका कारण अपाङ्ग, ज्येष्ठ नागरिकसहित सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही लगायतका सर्वसाधारण खुसी भएका छन् ।
यता घुम्ती शिविरसँगै प्रत्येक वडामा गाउँपालिकाले सार्वजनिक सुनुवाइसमेत आयोजना गरेको छ । स्थानीय जनता तथा सेवाग्राहीको चासो, गुनासो र सुझावहरु सुन्ने उद्देश्यले शिविरसँगै सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । सार्वजनिक सुनुवाई नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सहजीकरणमा सञ्चालन गरिएको थियो ।