सिरिजङ्गामा माघ २ बाट पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
पालिकाका शिक्षा अधिकृत डिल्लीराज खड्काका अनुसार यसपटक पालिका स्तरीय रनिङ शिल्ड माघ २ गते ४ गतेसम्म खेवाङमा गरिने भएको छ । गणेश माध्यमिक बिद्यालयलाई पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्न अनुमति दिने निर्णय गाउँ शिक्षा समितिले गरेको शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार गणेश माविले उक्त प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिन पालिकामा अनुरोधपत्र पठाएको थियो ।
जिल्ला खेलकुद विकास समितिले भने पुस मसान्तसम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकी त्यसको ७ दिन भित्र खेलकुदको सम्पूर्ण विवरण सहितको प्रतिबेदन आफुहरुलाई पठाइसक्न यसअघि नै यहाँका सबै पालिकाहरुमा अनुरोधपत्र पठाएको थियो । सिदिङ्वा र मैवोखोलाले यसअघि नै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिसकेका छन् । यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिदिङ्वाको साब्लाखुमा हुँदैछ ।