शिक्षा क्षेत्रमा लगानी बढाउँदै आठराई त्रिबेणी: बिद्यालयले बार्षिक १० हजार देखि १५ लाख सम्म अनुदान पाउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आवश्यकता तथा प्राथमिकतामा आधारमा बिद्यालयहरुलाई अनुदान बढाउँदै लैजाने भएको छ ।
अनुदान बढाउने नीतिसंगै उसले अनुदानको उचित उपयोग गरेवापत सम्मान र दुरुपयोग गरे दण्ड समेतको प्रावधान राखेर अनुदानको उपयोगितामा कडाईको नीति अघि समेत सारेको छ । गाउँपालिकाले पालिकाभरीका बिद्यालयलाई दिने अनुदानका लागि कार्यविधि बनाई कार्यान्वयन गरिरहेको छ । गाउँ शिक्षा समितिका समेत अध्यक्ष रहेका पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार अनुदान रकम,बिद्यालयको काम कारवाही र शिक्षण सिकाई अवस्थाका बारेमा अधिकारप्राप्त अधिकारीबाट अनुगमन,मूल्याङ्कन र विश्लेषण गरी नतिजा निर्धारण हुने छ । बिद्यालयको सर्वाङ्गिण विकासमा हित गरेवापत सम्मान तथा प्रचलित कानुन विपरित र बिद्यालय रहेको समुदाय प्रतिकूल हुने काम गरेमा दण्ड तथा सजायको व्यवस्था कार्यविधिमा गरिएको छ ।
पालिकाले बिद्यालयको सञ्चालन तथा व्यवस्थापन,शिक्षक तलवभत्ता,भौतिक व्यवस्थापन,मर्मतसम्भार,फर्निचर,दिवाखाजा र शैक्षिक सामग्री समेतमा बिद्यालयहरुलाई अनुदान उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ । यस्तै साँस्कृतिक तथा खेलकुद सामग्री,परीक्षा सञ्चालन,कोचिङ र ट्युसन कक्षा सञ्चालनका लागि आवश्यकता तथा प्राथमिकता निर्धारण गरेर पालिकाले बिद्यालयहरुलाई अनुदान दिदैं आएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । पालिकाले कक्षा १–३ तथा कक्षा १–५ सञ्चालित बिद्यालयहरुलाई बार्षिक रुपमा १० हजार रुपैयाँका दरले अनुदान दिँदै आएको जनाएको छ । यस्तै कक्षा १ देखि ८ सम्म सञ्चालित बिद्यालयलाई बार्षिक २० हजार रुपैयाँ अनुदान दिदैं आएको छ । उक्त अनुदान रकमबाट बिद्यालयले स्टेशनरी,शैक्षिक सामग्री खरिद,परीक्षा सञ्चालन र खेलकुद सामग्री खरिद गर्न सक्नेछन् ।
कक्षा १–१० सम्म सञ्चालित बिद्यालयलाई प्रतिबर्ष ७० हजार रुपैयाँका दरले अनुदान दिँदै आएको छ । कार्यविधि अनुसार उक्त रकमको २० प्रतिशतले बिद्यालय स्टेशनरी र खेलकुद सामग्री खरिद गर्नुपर्ने हुन्छ भने ५० प्रतिशत परीक्षा सञ्चालन,रजिष्ट्रेशन शुल्क,परीक्षा तथा आबेदन शुल्कमा खर्च गर्न पाइने छ । अनुदानको बाँकी ३० मध्ये २० प्रतिशत खेलकुदमा र १० प्रतिशत पानी,बिद्युत र इन्टरनेट सहितका खर्च गर्न पाइने कार्यविधि छ । यस्तै कक्षा ११ र १२ मा २ जना दरबन्दी भएका कक्षा १ देखि १२ सम्म सञ्चालित बिद्यालयहरुलाई बार्षिक ३ लाख र कक्षा ११ र १२ मा शुल्य दरबन्दी भएका बिद्यालयहरुलाई पालिकाले प्रतिबर्ष ८ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको जनाएको छ । नमूना बिद्यालयको हकमा बार्षिक १५ लाख रुपैयाँ सम्म अनुदान दिन सकिने पालिकाले कार्यविधि बनाई कार्यान्वयन गर्दै आइरहेको छ ।