|

शिविरमार्फत स्थानीय सरकारको सेवा लिने सेवाग्राहीको भीड

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरिरहेको एकीकृत घुम्ती शिविरमा सेवाग्राहीको भीड लाग्दै आएको छ । पालिकाले गएको सोमबारदेखि सञ्चालन गरिरहेको घुम्ती शिविरमा सेवाग्राहीको भीड लाग्दै आएको हो ।
प्रत्येक वडामा सञ्चालन हुँदै आएको एकीकृत घुम्ती शिविर बिहीबार वडा नम्बर ५ फाकुम्बामा सम्पन्न भएको छ । फाकुम्बामा आयोजित घुम्ती शिविरमा सेवाग्राहीको निकै भीड लागेको अर्थात ८३० जनाले सेवा लिएका छन् ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार पालिका कार्यालयबाट प्रदान हुने विभिन्न १३ वटा शाखाका सेवाहरु शिविरमार्फत प्रवाह गरिँदै आएको छ । शिविर सञ्चालनको चौथो दिन बिहीबार सबैभन्दा बढी १६० जना सेवाग्राहीले प्रशासन शाखाबाट प्रवाह हुने सेवा लिएका प्रमुख प्रशासकीय अधिकृत गोम्देनले जानकारी दिनुभयो ।
यस्तै कृषि विकास शाखाअन्तर्गत १५४ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । पशु शाखाबाट १२८, पञ्जीकरण शाखाबाछ १२५ र ९० जनाले स्वास्थ्य शाखाबाट प्रदान हुने सेवा सेवाग्राहीले प्राप्त गरेका पालिकाले जनाएको छ । सेवाग्राहीले अन्य योजना, पूर्वाधार नक्सापास शाखा, महिला तथा ज्येष्ठ नागरिक, सूचना प्रविधि, शिक्षा लगायतका शाखाबाट प्रवाह हुने सेवा लिएका छन् ।
यसअघि शिविरको पहिलो दिन सोमबार वडा नम्बर १ ढुङ्गेसाँघुमा सञ्चालित घुम्ती शिविरमा ८८३ जनाले सेवा लिएका थिए । त्यस्तै दोस्रो दिन वडा नम्बर २ मा ८३८ जना र तेस्रो दिन वडा नम्बर ६ मा ८२४ जनाले सेवा लिएका पालिकाले जानकारी दिएको छ ।
पालिकावासी जनता अर्थात सेवाग्राहीलाई घरआँगनमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार घुम्ती शिविरसँगै नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ ।
प्रत्येक वडा तथा टोलका जनताको चासो, गुनासो र प्रतिक्रियाहरु सुन्ने उद्देश्यले शिविरसँगै सार्वजनिक कार्यक्रम पनि गर्दै आएको अध्यक्ष वनेमले बताउनुभयो । शुक्रबार वडा नम्बर ४ साँघुमा घुम्ती शिविर साथै सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने तालिका रहेको पालिकाले जनाएको छ ।

Similar Posts