फुङलिङमा सञ्चालित आँखा शिविरमा २८ जनाको शल्यकृया
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा आयोजित शल्यकृया सहितको तीनदिने आँखा स्वास्थ्य शिविरको पहिलो दिन बिहीबार २ सय २१ जनाले सेवा लिएका छन् । २३ जनाको मोतियाबिन्दु र ५ जनाको लघु गरी २८ जनाको आँखाको शल्यकृया गरिएको छ ।
नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेका अनुसार ९ महिला र १४ पुरुषको मोतियाबिन्दु तथा ३ महिला र २ पुरुषको आँखाको लघु शल्यकृया गरिएको हो । शिविरमा ३१ महिला र ४९ पुरुष गरी ८० जनालाई निःशुल्क चश्मा बितरण गरिएको थेबेले जानकारी दिनुभयो । शिविरमा फुङलिङ नगरपालिकाका १ सय २१ जना,फक्ताङलुङका २० जना,मिक्वाखोलाका १५ जना,मेरिङदेन र पाथीभरा याङवरकका १४–१४ जना,आठराई त्रिबेणीका ८ जना,सिरिजङ्गाका ५ जना,सिदिङ्वाका ४ जना,मैवाखोलाका ३ जना र पाँचथरका ५ जनाले सेवा लिएको समेत थेबेले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति संघले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सेवा फाउण्डेसन काठमाडौं र फुङलिङ नगरपालिकाको सहयोगमा २४,२५ र २६ गते तीनदिनका लागि फुङलिङमा आँखा स्वास्थ्य शिविरको आयोजना गरेको हो । यसअघि बैशाख २१ र २२ गते मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र दोभान बजारमा आँखा स्वास्थ्य शिविर आयोजना भएको थियो । शिविरमा ५९ जनाको आँखाको शल्यकृया भएको मेरिङदेन गाउँपालिकाले जनाएको छ ।