|

आठराई त्रिबेणीद्धारा मुख्य ८ उपलब्धी सार्वजनिक:पालिका भरी विद्युत निःशुल्क देखि प्रशासनिक भवन निर्माणसम्म

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १२ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले बर्तमान जनप्रतिनिधिको कार्यकालमा भएका मुख्य ८ कामको विवरण सार्वजनिक गरेको छ ।

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार घरायसी प्रयोजनका लागि पालिकाभरीका नागरिकले प्रयोग गर्ने विद्युतको महशुल निःशुल्क,प्रशासननिक भवन र कर्भडहल जस्ता दिगो र भरपर्दो पूर्वाधारको विकास,कक्षा १२ सम्मको शिक्षा निःशुल्क,सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र पालिकाका सबै वडाहरुमा प्रसुति सेवा केन्द्र(बर्थिङ सेन्टर)सञ्चालन सहितका कार्य भएका छन् । यस्तै जेष्ठ नागरिकका लागि निःशुल्क चश्मा तथा दन्त उपहार सेवा,बिद्यालयको लेखा परीक्षण गाउँपालिकाबाट निःशुल्क गरिने,प्रत्येक महिना पालिका भरीका बिद्यालयका प्रधानाध्यापकसंग नियमित बैठक सञ्चालन,पालिका भरीका सरकारी कार्यालयहरुमा निःशुल्क फाइवर नेट जडान सहितका कार्य समेत पूरा भएको पालिका अध्यक्ष पोमूले बताउनुभयो ।

पालिकाले पालिका भरीका बिद्यालयमा आवश्यक पर्ने शिक्षक पदपूर्ति गर्ने परीक्षा शुल्क समेत आफैं व्यहोर्दै आएको तथा पालिका भरीका बिद्यालय र स्वास्थ्य संस्थालाई आवश्यक प्रशासनिक खर्च समेत उपलब्ध गराउँदै आएको छ । पालिकाले कार्यविधि नै बनाएर कार्यालय समय भन्दा अतिरिक्त समयमा कार्यालयको कामकाज गर्ने कर्मचारीलाई कार्यबोझका आधारमा प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको जनाएको छ । संघीय सरकारले दिदैं आएको प्रत्येक आइतवार बिदा आठराई त्रिबेणीमा लागु छैन । त्यहाँ आइतवार समेत पालिका र पालिका मातहतका बिद्यालय सहितका सबै सरकारी निकाय सञ्चालन हुँदै आएका छन् । आठराई त्रिबेणीले पालिकाको केन्द्र आसपासको ५ सय मिटर क्षेत्र कालोपत्रे काम गरेको छ भने आउँदो माघ महिना भित्रमा पालिकालाई फुसको छानो मुक्त गाउँपालिका बनाउने गरी आवश्यक बजेटको प्रवन्ध भएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले जानकारी दिनुभयो ।

आठराई त्रिबेणीले स्थानीय सञ्चार माध्यमको प्रर्वद्धन गर्न स्थानीय सञ्चार ऐन समेत ल्याएको छ । पालिकाका प्रवक्ता तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले पालिकाले स्थानीय सञ्चार संस्था तथा सञ्चारकर्मीको हित र सञ्चार संस्थाको प्रर्वद्धनका लागि पालिकाले असार १० गते गाउँसभा तथा बजेट अधिबेशनमार्फत सञ्चार ऐन ल्याएको जानकारी दिनुभयो । सभाबाट पारित भएको उक्त ऐन स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने पालिका अध्यक्ष पोमू बताउँनुहुन्छ ।

पालिकाले पालिकाको गौरवको सडक,भुजे–गोर्जा–गुफा सडकलाई समेत महत्व दिएर सडक बिस्तार तथा स्तरोन्नतीको कार्य अघि बढाईरहेको जनाएको छ । वडा नं ३ र वडा नं ४ लाई जोड्ने याक्से–देवीथान–सोबुवाखोलामा मोटरेवल पुल निर्माणको कार्य समेत अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । उक्त मोटरेवल पुलको ढलान कार्य जारी रहेको पालिका अध्यक्ष पोमूले बताउनुभयो । पालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शिक्षकलाई सम्मान तथा प्रोत्साहन र जिम्मेवारी अनुसार कार्य सम्पादन नगर्नेलाई दण्डको व्यवस्था समेत गरेको छ । त्यसका लागि पालिकाले प्रोत्साहन,सम्मान तथा दण्ड सम्वन्धी कार्यविधि बनाई कार्यान्वयन गर्दै आइरहेको जनाएको छ ।

Similar Posts