थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक हवल्दार सुशिल थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार विभागीय मूल्य मान्यता,आदेश निर्देशनको पालना गरी लगनशिल र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवल र साहसका साथ आफुलाई दिएको जिम्मेवारीप्रति पूर्ण वफादार रही अनुशासित एवम् जिम्मेवारीका साथ कार्य सम्पादन गर्ने गरेको आधारमा थापालाई चैत महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
थापाले चैत महिनामा ताप्लेजुङ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्धारा विभिन्न मितिमा भएका फैसला बमोजिम लगत अनुसारका हालसम्म फरार रही कैद तथा जरीवाना भुक्तान गर्न बाँकी रहेका फौजदारी मुद्दाका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरी निजहरुलाई लागेको ३३ हजार १२० रुपैयाँ जरीवाना असुलउपर गराएको,२४ बर्षिया एक महिलालाई जबरजस्ति करणी गरेको अभियोग लागेका अभियुक्तलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याएको,१४ बर्षिया बालिकालाई जबरजस्ति करणी गरेको अभियोगका अभियुक्तलाई कानुनी दाहेरामा ल्याउन सफल भएको सहितका कारणबाट उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थापाले जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका जघन्य गम्भिर मुद्दाहरुको अनुसन्धान कार्यमा उत्कृष्ट कार्य सम्पादन गरी अनुसन्धान कार्यमा सहयोग पु¥याउनुका साथै अनुसन्धान हुने विभिन्न प्रकृतिका अपराधका कल विवरण माग गरी विश्लेषण र अपराध वारदातमा संलग्नहरुको पहिचान एवम् कानुनी दाहेरामा ल्याउन भूमिका निर्वाह गरेका कारण उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापा इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम दरबन्दी भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत रहनु भएको छ ।