टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पुरस्कार वितरण
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ९ । टीकाराम गौतम स्मृति प्रतिष्ठान ताप्लेजुङले पत्रकारसहित दुई व्यक्ति र एक रेडक्रस संस्थालाई पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले स्वर्गीय टीकाराम गौतमको १६ औं स्मृति दिवसको अवसरमा बुधबार पुरस्कार वितरण गरेको हो ।
सदरमुकाम फुङ्लिङमा आयोजित स्मृतिसभा कार्यक्रममा टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार रेडियो काबेलीकी स्टेशन म्यानेजर साहारा लङ्वा लिम्बूलाई प्रदान गरेको छ । सञ्चारकर्मी लङ्वा गोरखापत्र दैनिकको फुङ्लिङ समाचारदाताको रुपमासमेत कार्यरत रहनुभएको छ ।
यस्तै टीकाराम गौतम समाजसेवी पुरस्कार फुङ्लिङ नगरपालिका–४ अम्विटारस्थित भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईलाई प्रदान गरिएको छ । लामो समयदेखि शिक्षण पेशामा संलग्न रहेर शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राईलाई पुरस्कृत गरेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै ताप्लेजुङका रेडक्रस उपशाखाहरुमध्ये नेपाल रेडक्रस सोसाइटी ढुंगेसाँघु उपशाखालाई उत्कृष्ट छनोट गरी प्रतिष्ठानले पुरस्कृत गरेको छ । पुरस्कृत सञ्चारकर्मी र समाजसेवी शिक्षक राईलाई जनही १० हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिनुभयो ।
अध्यक्ष गौतमका अनुसार उत्कृष्ट रेडक्रस उपशाखालाई भने १५ हजार नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको छ । पुरस्कृत हुनेलाई प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ लगायतले पुरस्कार रकम र सम्मानपत्र तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य सञ्चपाल मादेन, दुर्गादल गुल्मका गुमपति उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति इन्द्रबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सुवास आचार्य लगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति टीकाराम गौतमको २०६६ कात्तिक ११ गते हृदयघात भई निधन भएको थियो । वि.सं. २०१३ बैशाख ९ गते जन्मनुभएका गौतमको निधनपछि उहाँका परिवारले प्रतिष्ठान स्थापना गरी २०६९ देखि प्रत्येक वर्ष दिवंगत गौतमको जन्मदिनको दिन बैशाख ९ गते पुरस्कार वितरण कार्यक्रम गर्ने गरिएको छ ।