फुरुम्बुमा ५ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा मंगलवारबाट ५ दिने भाषण तथा उद्घोषणकला सम्वन्धी तालिम सुरु भएको छ ।
तालिमको जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले उद्घाटन गर्नु भएको छ । तालिमको उद्घाटन गर्दै जिसस उपप्रमुख लिङखिमले महिलाहरुलाई चुलोचौकामा मात्र सिमित नगरी उनीहरुको क्षमता विकासका लागि १० नं वडा कार्यालयले आयोजना गरेको कार्यक्रम सह्रानीय गरेको बताउनुभयो । तालिमको उद्घाटन समारोहमा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले तालिमबाट सिकेको सीपलाई आफ्नो व्यवहारिक जीवनमा प्रयोग गरी सवल र सक्षम नागरिक बन्न सहभागीलाई आग्रह गर्नु भएको छ ।
फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले महिलाहरुको व्यत्तित्व तथा क्षमता विकासका तालिमलाई तालिमकै रुपमा मात्र सिमित नगरी तालिमलाई लाभदायक बनाउन सहभागीलाई आग्रह गर्नु भएको छ । फुनपा वडा नं १० का वडा सदस्य प्रेमकुमार लिम्बूले तालिम व्यक्तिगत तथा संस्थागत क्षमता विकासका लागि लाभप्रद हुने भएकोले तालिममा अनुशासित र मर्यादित भएर सिक्न आग्रह गर्नुभयो ।
तालिमको सहजीकरण पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गरिरहनु भएको छ । फुङलिङ नगरपालिका वडा नं १० का वडा सचिव सचिन रेग्मीका अनुसार तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोहमा फुङलिङ नगरपालिका वडा नं १० का वडा सदस्य पम्फा दमाई सहितको उपस्थिति रहेको थियो ।