कक्षा ८ का नन् ग्रेड बिद्यार्थीको पूरक परीक्षा लिदैं सिरिजङ्गा
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ८ को परीक्षामा नन् ग्रेड(एनजी)ल्याउने बिद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । पूरक परीक्षा अघि पालिकाले सम्वन्धित बिद्यालयमै परीक्षामा सामेल हुने बिद्यार्थीका लागि कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने भनेको छ ।
पालिकाले कोचिङ कक्षा सञ्चालन गरी त्यसवापतको प्रोत्साहन रकम सम्वन्धित बिद्यालयमार्फत उपलब्ध गराउने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुुसार पूरक परीक्षा २०८३ साल बैशाख १५ गते २२ गतेसम्म सञ्चालन हुने छ । यसअघि पालिकाका बिभिन्न बिद्यालयमा केन्द्र बनाएको पालिकाले पूरक परीक्षाका लागि भने पालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माध्यमिक बिद्यालयमा केन्द्र निर्धारण गरेको छ ।
पालिकाका अनुसार कक्षा ८ को परीक्षामा पालिकाका १७ बिद्यालयका १ सय ७० जना परीक्षार्थीले परीक्षा लेखेकोमा ९१ जना उर्तीण भएका छन् । दुर्गा मावि सिकैचा,सिंहदेवी आधारभूत बिद्यालय सिकैचा,बाल कल्याण आधारभूत बिद्यालय सिकैचा,पाथीभरा आधारभूत बिद्यालय तेल्लोक र याङपाङ आधारभूत बिद्यालय पेदाङ गरी ५ बिद्यालयका कुनैपनि परीक्षार्थी परीक्षामा उर्तीण हुन नसक्दा सिकैचास्थित सरस्वती मावि र आम्बेगुदिनस्थित भगवती आधारभूत बिद्यालयका सत प्रतिशत बिद्यार्थी उर्तीण भएका छन् ।