| |

पाथीभरा क्याम्पस सञ्चालक समिति अध्यक्ष इजम निर्वाचित

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २० । ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम (राई) निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमार्फत अर्का प्रत्यासी कुमार मादेनलाई पराजित गर्दै इजम अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन संयोजक रामकुमार थापाकाअनुसार इजमले १८ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी मादेनले १२ मत मात्र प्राप्त गर्नुभएको छ । छ मतको अन्तरले मादेनलाई पराजित गर्नुभएका इजम पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको पहिलो महिला अध्यक्षसमेत हुनुभएको छ ।
यस्तै शिक्षाप्रेमी महिला सदस्यतर्फ गीताकुमारी सेन्दाङ र मैया न्यौपाने निर्वाचित हुनुभएको छ । सदस्यमा निर्वाचित सेन्दाङले २७ र न्यौपानेले १७ मत प्राप्त गर्नु भएको छ । महिला सदस्यकै प्रत्यासी मातृकादेवी प्रसाईले भने १० मत मात्र प्राप्त गर्नुभएको थियो ।
शिक्षाप्रेमी बुद्धिजीवी खस आर्य सदस्यतर्फ टेकनाथ अधिकारी निर्वाचित हुनुभएको छ । सोही कोटाको सदस्यका उम्मेदवार भोलानाथ पौडेललाई पराजित गर्दै अधिकारी निर्वाचित हुनुभएको हो । सदस्यमा निर्वाचित अधिकारीले १९ मत र पराजित पौडेलले १० मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै शिक्षाप्रेमी समाजसेवी बुद्धिजीवी जनजाति सदस्यतर्फ पृथ्वीप्रसाद मादेन निर्वाचित हुनुभएको छ । उहाँ १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो भने अन्य दुईजना प्रत्यासी हिमकला गुरुङले नौ र रामचन्द्र पोमुले तीन मत मात्र प्राप्त गर्नुभएको निर्वाचित समितिले जनाएको छ । समाजसेवी बुद्धिजीवी दलित सदस्यमा भने सन्तोषकुमार सार्की निर्बिरोध निर्वाचित हुनुभएको समिति संयोजक थापाले जानकारी दिनुभयो ।
यसैगरी, चन्दादाता तथा अक्षयकोषदातातर्फ सदस्यमा कसैको पनि उम्मेदवारी नपरेको क्याम्पस प्रमुख सजन पौडेलले बताउनुभयो । निर्वाचित सञ्चालक समितिको कार्यकाल तीन वर्षको हुने क्याम्पसले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts