रुद्राक्षको माला बनाउन सिकाउँदै सिदिङ्वा
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले रुद्राक्षको माला निर्माण सम्वन्धी ७२ घण्टे आवासीय तालिम सञ्चालन गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाका प्रत्येक वडाबाट छानिएर आएका १–१ जना गरी ७ जनालाई यस्तो तालिम दिइन लागिएको हो । सिदिङ्वा गाउँपालिकाको स्थायी बासिन्दा,१८ बर्ष पूरा भई ४० बर्षको ननाघेको व्यक्तिले वडा कार्यालयको सिफारिसपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्रका साथ मंसिर २९ गते भित्र पालिकामा सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
पालिकाले चालु आर्थिक बर्ष २०८२।८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस्तो तालिम सञ्चालन गर्न लागेको बताएको छ । रुद्राक्षको उत्पादन सम्भावना बलियो रहेको र पाहुनाहरुका लागि रुद्राक्षको मालाले स्वागत गर्न सकिने गरी तालिमकर्तालाई व्यवसायिक बनाउन कार्यक्रम अघि सारिएको सिदिङ्वाले जनाएको छ ।