इन्द्रावतीमा बाढी आउँदा पुलमा क्षति, यातायात अवरुद्ध
-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ९ । गएराति इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल (मोडर गुड्ने) पुलमा क्षति पु¥याउँदा यातायात सेवा अवरुद्ध भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पु¥याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार बिहानको राति ३ः०० तिर इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पु¥याएको हो ।
बाढीले मोटरेवल पुलको साब्लाखुतर्फको भागमा क्षति गरेको पन्दाकले जानकारी दिनुभयो । पक्की संरचना भन्दा बाहिरीतर्फ करिव छ मिटर जति पुलको जिपमा बाढीले क्षति पु¥याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । पुलको पक्की संरचना पनि निकै जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।
पुलमा क्षति भई सडक अवरुद्ध हुँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको वडा नं. ७ खेवाङ र वडा नं. ८ याम्फुदिनबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प भएको छ । सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) का अनुसार बाढीले पुलमा क्षति गरेपछि सिदिङ्वाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ र लामो दुरीतर्फ पाँचथर, इलाम हुँदै अन्यत्र जाने सवारी साधन रोकिएका छन् ।
यस्तै सिदिङ्वातर्फ भित्रने यात्रु तथा मालबाहक सवारी साधन पनि पाँचथरतर्फ नै रोकिएका उपाध्यक्ष कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार साँझपछि इन्द्रावती खोलाको शिरतर्फ ठूलो वर्षा भएको र वर्षाका कारण बाढी आएको हो । यता सिदिङ्वा गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै आइतबारदेखि क्षतिग्रस्त मोटरेवल पुल पुनःनिर्माण गर्न सुरु गर्ने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले सूचना जारी गर्नुहुँदै सडक तत्काल सुचारु गर्न पुल मर्मत तथा पुनर्निर्माणको काम सुरु गर्ने उल्लेख गर्नुभएको छ ।