अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा सहभागी हुने ८ टिमको टुङ्गो,बिजेताले ३ लाख पुरस्कार पाउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २७ । मंसिर २३ गते देखि ताप्लेजुङको तेल्लोकमा हुने अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मा फुटबलतर्फ सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लवले बिहीबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनमार्फत अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने टिम सार्वजनिक गरेको हो । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लवले ताप्लेजुङको प्रतिनिधित्व गर्ने छ । प्रतियोगितामा न्यू स्टार फुटबल क्लव झापा,पारिजात संघ फुटबल क्लव सिलगुढी(भारत),रेडहर्ष फुटबल क्लव इलाम,वाईवाई पाँचथर फुटबल क्लव(पाँचथर),साँगुरीगढी फुटबल क्लव धनकुटा,मरिक एफसी धरान(सुनसरी) र म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुम सहभागी हुने आयोजक क्लवका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

क्लवका सचिव रञ्जित मावोका अनुसार प्रतियोगिताका बिजेताले नगद ३ लाख ३२१ रुपैयाँ र उपबिजेता हुने टिमले १ लाख ५० हजार ३२१ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ सर्बोकृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा सर्बाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ५–५ हजार रुपैयाँका साथ सबैलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच बन्ने खेलाडीलाई जनही नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लवका सचिव मावोले बताउनुभयो ।

किराँत लिम्बू लिपिका प्रचारक,सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर‘सिरिजङ्गा मेला’सहित अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप हुन लागेको हो । यसबर्ष सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्ती हो । स्वर्गीय सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्ती भएकोले यसबर्ष बिजेता र उपबिजेताले पाउने पुरस्कार रकमको अन्तिम अंक ३२१ रहेको क्लवका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । अन्तराष्ट्रिय आमन्त्रण सरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ सम्पन्न गर्न ४१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सिरिजङ्गासिंह थेबेलाई जातीय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ । सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । इ.सं १७०४ मंसिर २९ गते पूर्णिमाको दिन उनको जन्म भएको हो । मंसिर २९ गते सिरिजङ्गासिंह थेबेको जन्मजयन्ती हो । यही अवसर पारेर तेल्लोक स्पोर्टिङ क्लवको अगुवाई तथा तेअङ्सी सिरिजङ्गा स्मृति संस्थाको संरक्षकत्वकमा अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला सञ्चालन हुने आयोजक क्लवले पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।

सिरिजङ्गा मेला अन्तरगत  राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम,स्थानीय उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम,स्थानीय जाति,भाषा तथा संस्कृतिमा आधारित बिभिन्न कार्यक्रम तथा गतिविधि हुने भएका छन् । यसबर्ष सेमी फाइनलका दुई खेल र फाईनलको एक खेलमा प्रवेश शुल्क वापत जनही ५० रुपैयाँ शुल्क लिने की भन्ने बारेमा छलफल भइरहेपनि निश्कर्षमा भने पुगि नसकिएको तेल्लोक स्पोर्टिङ क्लवले जनाएको छ ।

Similar Posts