बिषाक्त कफ सिरफको प्रयोग तथा बिक्री बितरण नगर्न ताप्लेजुङ प्रशासनको अपिल
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिषाक्त कफ सिरफको प्रयोग तथा बिक्री बितरण नगर्न नगराउन अपिल जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले छिमेकी मुलुक भारतमा बिभिन्न प्रकारका बिषाक्त कफ सिरफको प्रयोगबाट बालबालिकाको मृत्यु भएका कारण भारत सरकारले यस्ता कफ सिरफमा प्रतिवन्ध लगाएको स्मरण गराउँदै बिषाक्त कफ सिरफको बिक्री तथा प्रयोगमा रोक लगाईएको जनाउनु भएको छ । प्रजिअ सेढाईँले त्यस्ता प्रकारका प्रतिवन्धित कफ सिरफको बिक्री बितरण तथा प्रयोग नगर्न तथा गर्न नदिन अपिल गर्नु भएको छ ।
बिषाक्त कफ सिरफको प्रयोग तथा बिक्री बितरण भईरहेको सूचना पाए तत्काल स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । बिषाक्त कफ सिरफको प्रयोग तथा बिक्री बितरण भएको पाईए जफत गरी बिक्री बितरणकर्तालाई आवश्यक कानुनी कारवाही हुनेतर्फ प्रशासन कार्यालयले सचेत गराउँदै नेपाल सरकार,स्वास्थ्य मन्त्रालय औषधि व्यवस्थापन विभागबाट स्वीकृत प्राप्त भएका औषधिको प्रयोग र बिक्री बितरण गर्न समेत आग्रह गरेको छ ।