मन्त्री पुनको ध्यानाकर्षणपत्र पेशागत संगठनको स्वतन्त्रता माथि अंकुश लगाउने खालको: शिक्षक संगठन
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २५ । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङले पेशागत कर्तव्य र नैतिक दायित्व विपरित शिक्षामन्त्री महावीर पुनले शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न भएको भन्ने आधारहिन आरोप लगाएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्री पुनले कात्तिक २३ गते जारी गरेको ध्यानाकर्षण पत्र पेशागत संगठनको स्वतन्त्रता माथि अंकुश लगाउने गलत प्रपञ्चको रुपमा रहेको शिक्षक संगठनले विज्ञप्ति जारी गरी बताएको हो । जिल्ला अध्यक्ष मदनकुमार सेन्दाङ तथा सचिव रुपेन्द्र वनेमद्धारा जारी विज्ञप्तिमा मन्त्री पुनद्धारा जारी ध्यानाकर्षण पत्र नेपालको संविधान २०७२ को धारा १७ गते प्रत्याभूत गरेको बिचार,अभिव्यक्ति,संगठन खोल्ने र सभा सम्मेलन र स्वतन्त्रताको अधिकार तथा धारा ३४ ले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकार विपरित रहेको दावी गरिएको छ ।
संगठनले नेपालले अनुमोदन गरेको अन्तराष्ट्रिय कानुनी प्रतिवद्धता,अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ)कन्भेन्सन बिरुद्ध मन्त्री पुनले शिक्षक सहित श्रमिकहरुलाई स्वतन्त्रपूर्वक संगठित हुने तथा सामुहिक बार्ता तथा सहभागिताको अधिकार माथि हस्तक्षेप गरेको दावी समेत गरेको छ । संगठनले शिक्षकहरुको संगठनात्मक संलग्नता कुनै राजनीतिक स्वार्थका लागि नभई शिक्षाको अधिकार तथा शैक्षिक गुणस्तर र बिद्यार्थीको हितका लागि भएको संगठनले बताएको छ ।
संगठन निर्माण र परिचालनले शैक्षिक गुणस्तर खस्केको नभई बिद्यालयमा दरबन्दी पर्याप्त नहुनु,न्यायोचित दरबन्दी वितरण नगर्नु,शिक्षा क्षेत्रमा लगानी कम हुनु,शिक्षक तथा कर्मचारीको सेवामा स्थायित्व नहुनु र पटक–पटक सरकारसंग सम्झौता कार्यान्वयन नहुनु प्रमुख कारणको रुपमा रहेको संगठनले औंल्याएको छ ।