कोशी प्रदेश समन्वय परिषद् कतारद्धारा कोशीका अस्पताल र स्वास्थ्य संस्थालाई २९ थान ह्विलचियर प्रदान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १२ । कोशी प्रदेश समन्वय परिषद्,कतार र ताप्लेजुङ पाथीभरा सेवा समाज कतारमार्फत कोशी प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई २९ थान ह्विलचियर प्रदान भएको छ ।
अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना भई आवत–जावतमा कठिनाई भोगिरहेका बिरामीहरुको सहजताका लागि सामाजिक उत्तरदायित्व अभियान अन्तरगत ह्विलचियर प्रदान भएको कोशी प्रदेश समन्वय परिषद्,कतारका अध्यक्ष रुद्र शर्मा आचार्यले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीको उपस्थितिमा कोशी प्रदेश समन्वय परिषद्,कतार र ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका नेतृत्वकर्ता तथा अगुवाहरुको उपस्थितिमा ह्विलचियर प्रदान भएको कोशी प्रदेश समन्वय परिषद्,कतारले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी सरकारका स्वास्थ्य मन्त्री पराजुलीले प्रवासमा रहेपनि आफ्नो प्रदेशका नागरिकको स्वास्थ्य र सुविधालाई प्रति सम्बेदनशिल भएर सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । उहाँले यस्ता सामाजिक सेवामूलक पहलले सरकार,सामाजिक संस्था र समुदायबिचको सहकार्यलाई थप बलियो बनाउने धारणा समेत व्यक्त गर्नु भएको छ । कोशी प्रदेश समन्वय परिषद्,कतारका अध्यक्ष आचार्यका अनुसार झापाको बाह्रदशी अस्पताल र बनियाँनी प्राथमिक स्वास्थ्य केन्द्र,मोरङको कोशी अञ्चल अस्पताल,सुनसरीको जिल्ला अस्पताल इनरुवा,उदयपुरको जिल्ला अस्पताल गाईघाट, इलाम जिल्ला अस्पताल,पाँचथर जिल्ला अस्पताल फिदिम र ताप्लेजुङ जिल्ला अस्पताल फुङलिङलाई ह्विलचियर उपलब्ध गराइएको छ ।
आचार्यका अनुसार संखुवासभा जिल्ला अस्पताल खाँदबारी र चैनपुर अस्पताल,तेह्रथुमको जिल्ला अस्पताल म्याङ्लुङ र प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजार,भोजपुरको जिल्ला अस्पताल भोजपुर र दिङ्गला नगर अस्पताल तथा खोटाङका जन्तेढुंगा र बराह पोखरी गाउँपालिकास्थित आधारभूत अस्पताललाई पनि ह्विलचियर प्रदान गरिएको छ । सन् २०१७ मा स्थापना भएको परिषद्ले कतारमा रहेका नेपालीलाई एकताबद्ध गर्दै सामाजिक सेवा,मानवीय सहयोग तथा मातृभूमिको विकासमा योगदान पु-याउँदै आएको परिषद्का संस्थापक अध्यक्ष चुडामणि कार्कीले जानकारी दिनुभयो ।