खेवाङ खेलकुद महोत्सवः फुटबल तथा भलिबलको खेल तालिका सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा कात्तिक १६ देखि हुने खेवाङ खेलकुद महोत्सव अन्तरगत हुने फुटबल र भलिबल खेलको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक खेवाङ स्पोर्टिङ क्लवका अध्यक्ष विनम मावोका अनुसार ८ टिम सहभागी हुने फुटबलको पहिलो खेलमा कात्तिक १७ गते नेना कम्पनी प्राइभेट लिमिटेड खेवाङले सिदिङ्वाको आङखोप युवा समाजसंग खेल्ने भएको छ । सोहि दिन हुने दोस्रो खेलमा सिरिजङ्गा याम्फुदिनको कञ्चनजंघा स्पोर्टिङ क्लवले सिरिजङ्गाकै पेदाङ स्पोर्टिङ क्लवसंग भीडन्त गर्ने छ । तेस्रो खेलमा कात्तिक १८ गते सिरिजङ्गाको तेल्लोक स्पोर्टिङ क्लवले सिदिङ्वा सुरुम्खिमको लालीगुराँस स्पोर्टिङ क्लवको सामना गर्ने भएको छ । आयोजक खेवाङ स्पोर्टिङ क्लवले कात्तिक १९ गते झापाको आरएसएस फुटबल क्लवसंग भीडन्त गर्दै पहिलो चरणको खेल समाप्त गर्ने भएको छ । पहिलो र तेस्रो तथा दोस्रो र चौथो खेलका बिजेता टिमबिच कात्तिक २० गते दुईवटा सेमीफाईनल खेल हुने भएका छन् भने कात्तिक २१ गते फाइनल खेल हुने आयोजक क्लवले जनाएको छ ।

यता,पुरुष भलिबलतर्फ १० टिम सहभागी हुने भएका छन् । आङखोप,आम्बेगुदिन,सुरुम्खिम,खेवाङ,मामाङखे,तेल्लोक,खेवाङको अर्को टिम,मेहेले,पेदाङ र थुम्बेदिनका टिम खेलमा सहभागी भएको आयोजक क्लवले जानकारी दिएको छ । महिला भलिबल हुने भनिएपनि आयोजकले महिला भलिबलतर्फको खेल तालिका भने सार्वजनिक गरेको छैन । खेलकुद महोत्सवका क्रममा क्लव स्तरीय फुटबल,अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल र हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुँदै छ । क्लवका अध्यक्ष मावोका अनुसार यसबर्ष फुटबल प्रतियोगितामा प्रथम हुनेले १ लाख ५५ हजार ५८३ रुपैयाँ र उपबिजेता हुने टीमले १ लाख ५ हजार ५८३ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

पुरुष भलिबलतर्फ प्रथम हुनेले ६० हजार द्धितीय हुनेले ४० हजार तथा महिलातर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने मावोले जानकारी दिनुभयो । महोत्सवको अन्तिम दिन कात्तिक २१ गते हाफ म्याराथन प्रतियोगिता हुने छ । तत्कालिन खेवाङ गाउँ विकास समितिको साविक वडा नं १ बाहेक साविकका ८ वटा वडालाई परिक्रमा गर्नेगरी २१ किलोमिटर दूरीमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ । म्याराथन खेवाङ स्पोर्टिङ क्लवको मैदानबाट सुरुभई एकचाना भञ्ज्याङ–लुङथुङ डाँडा–तम्फु–तावाटार–मानेडाँडा–जुगे डाँडा हुँदै पुनःखेवाङ स्पोर्टिङ क्लवको मैदानमा आएर हाफ म्याराथन पूरा हुने आयोजक क्लवले जानकारी दिएको छ ।

म्याराथन प्रतियोगितामा प्रथम,द्धितीय र तृतीयका अलवा दशौं स्थानसम्ममा दूरी पार गर्ने धावकलाई पुरस्कृत गरिने क्लवले जनाएको छ । क्लवका अध्यक्ष मावोका अनुुसार म्याराथनमा प्रथम हुनेले ३३ हजार ५८३ रुपैयाँ,द्धितीय हुनेलाई २२ हजार ५८३ रुपैयाँ र तृतीय हुनेलाई १३ हजार ५८३ रुपैयाँका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । चौथो हुनेलाई ७ हजार ५८३ रुपैयाँ,पाँचौं,छैटौं,सातौं र आठौं हुनेलाई ५ हजार ५८३ रुपैयाँ र नवौं तथा दशौं हुनेलाई ३ हजार ५८३ रुपैयाँसहित प्रमाणपत्रको व्यवस्था रहेको समेत मावोले जानकारी दिनुभयो ।

Similar Posts