फुङलिङ नगरपालिकाले आयोजना गरेको तीनदिने नेतृत्व विकास सम्वन्धी अनुशिक्षण फावाखोलामा सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । नेतृत्व तथा क्षमता विकास,कानुनी साक्षरता र आयआर्जन तथा महिला प्रजनन् स्वास्थ्य सम्वन्धी फुङलिङ नगरपालिकाले नगरका सबै वडामा सञ्चालन गरेको तीन दिवसीय अभिमुखीकरण बुधवार वडा नं ११ फावाखोलामा सुरु भएको छ ।
चालू आर्थिक बर्षका लागि यस्तो अभिमुखीकरण कार्यक्रममा फावाखोलामै अन्त्य हुने फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले बताउनुभयो । पहिलो दिन बुधवार नेतृत्व तथा क्षमता विकास र भाषण तथा उद्घोषणकला सम्वन्धी अभिमुखीकरण सञ्चालन भएको सहजकर्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका अनुसार बिहीबार कानुनी साक्षरता र शुक्रवार आयआर्जन तथा महिला प्रजनन् स्वास्थ्यका बिषयमा सहभागीलाई प्रशिक्षित गरिने छ ।
अभिमुखीकरणको उद्घाटन गर्दै फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई(योगेश)ले नेतृत्व क्षमतामा परिपक्वता नआएसम्म मानिसको हर वृत्तिविकासमा समस्या सृजना हुने भएकोले अनुशिक्षण लाभदायक हुने विश्वास लिनुभयो । कार्यक्रममा फुङलिङ नगर कार्यपालिका सदस्य विनिता राई,वडा सदस्य कविता विक,फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मञ्जु गुरुङ,फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक मौसम खवास,फावाखोलाका वडा सचिव दिलेन्द्र कार्की सहितकोको उपस्थिति रहेको थियो ।