सिदिङ्वाले भन्यो‘फूलको उत्पादन मनग्गे भयो,जिल्ला बाहिर समेत निर्यात गर्न सक्छौं’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यसबर्षको तिहार र विभिन्न पर्व तथा मेलाका लागि आवश्यक पर्ने फूल स्थानीय स्तरमा उपभोग गरी विभिन्न बजारमा निर्यात गर्न सकिने बताएको छ ।
पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)ले पालिकाको लगानीमा स्थानीय युवाले व्यवसायिक रुपमा फूल उत्पादन गर्न थालेकोले र त्यसले व्यवसायिक रुप लिएको भन्दै पालिका फूलको व्यवसायिक उत्पादनको प्रकृयामा प्रवेश गरेको जानकारी दिनुभयो ।‘हाम्रो उत्पादनले सिदिङ्वा र आसपासमा सबै क्षेत्रमा फूलको मागलाई थेगी पूर्वका विभिन्न ठाउँमा माग अनुसार निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौं’पालिका उपाध्यक्ष कडरियाले भन्नुभयो । उहाँले सिदिङ्वाका युवाहरुले फूलको व्यवसायिक उत्पादन थालेको र पालिकाले लगानी देखि त्यसको बजारीकरणमा सघाउने समेत जानकारी दिनुभयो ।
तत्कालका लागि पालिकामा सयपत्री फूलको व्यवसायिक उत्पादन सुरु भएको बताउँदै पालिका उपाध्यक्ष कडरियाले माग र आवश्यकताका आधारमा अन्य प्रकृतिका फूलको समेत व्यवसायिक खेतिको योजना पालिकाले बनाएको बताईन् । सयपत्री फूलको उत्पादनका लागि यहाँको हावापानी र माटो सुहाउँदिलो देखिएकोले पालिकाकै लगानीमा फूलको व्यवसायिक उत्पादन सुरु भएको सिदिङ्वा गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । माग अनुसार फूलको उत्पादन बाह्रैकाल गर्नेगरी पालिकाले बिशेष योजना अघि सारेको पालिका उपाध्यक्ष कडरियाले जानकारी दिनुभयो ।