ताप्लेजुङमा मोन्था चक्रवातको असर : धान उत्पादनमा २५–३० प्रतिशतसम्म ह्रास आउने कृषि ज्ञान केन्द्रको अनुमान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २० । कृषि ज्ञान केन्द्र ताप्लेजुङले मोन्था चक्रवातका कारण ताप्लेजुङको समग्र अन्न उत्पादनमा उल्लेख्य गिरावट ल्याउने सम्भावना औंल्याएको छ ।
निमित्त प्रमुख विजय श्रेष्ठका अनुसार मोन्था चक्रवातका कारण भएको अविरल बर्षाले ताप्लेजुङको धानवाली उत्पादन हुने क्षेत्रमध्ये ३५ देखि ४० प्रतिशत क्षेत्र अत्यधिक प्रभावमा परेको छ । यसका कारण उत्पादनमा करिव २५ देखि ३० प्रतिशतसम्म ह्रास आउने अनुमान गरिएको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार कुलमध्ये पूर्ण रुपमा कटान भएको १० प्रतिशत धानक्षेत्र डुबानमा परेको छ भने बाँकी ९० प्रतिशतमा सामान्य असर परेको छ । गुणस्तरीय(बासमती) धान डुबानमा पर्दा दानाको रंग,गन्ध र बिक्री मूल्यमा ह्रास आउने कृषि ज्ञान केन्द्र ताप्लेजुङले अनुमान गरेको छ । कटान भएको धानको ५० प्रतिशत पूर्ण रुपमा डुबानमा परी गुणस्तरमा गिरावट आएको अनुमान ज्ञान केन्द्रको छ ।
श्रेष्ठले कटान हुन बाँकी रहेको धानखेतमध्ये पनि ३५ देखि ४० प्रतिशत धान ढलेको,ढलेको धानमध्ये उपयोग्यतामा कमी हुनेगरी ४५ प्रतिशतमा क्षति पुगेको र ५५ प्रतिशतमा आशिंक रुपमा गुणस्तरमा कमी आएको अवस्था औंल्याउनुभयो । उहाँका अनुसार ५० देखि ५५ प्रतिशत धानखेतिमा कम हदसम्म असर परेको अवस्था देखिएको छ । धानखेतिमा बर्षाले पारेको प्रभावका कारण गुणस्तरीय बीउ प्रयोजनका लागि संकलन गर्न कठिनाई हुने र किसानमा श्रम तथा लागतको ह्रास असर देखिने कृषि ज्ञान केन्द्रले औंल्याएको छ । केन्द्रका अनुसार यसबर्ष ताप्लेजुङमा कुल ४ हजार ७९८ हेक्टर क्षेत्रफलमा धान खेति लगाईएको छ ।
मोन्था चक्रवातका कारण परेको बर्षाले करिव ४ सय ८० हेक्टर क्षेत्रफलमा कटान भएको धानमा पूर्ण रुपमा असर गर्ने ज्ञान केन्द्रको अनुमान रहेको छ । कृषि ज्ञान केन्द्रले माथिल्लो प्रभावित क्षेत्रमा शीघ्र धान क्षतिको वास्तविक तथ्याङ्क संकलन टोली पठाई अध्ययन गर्न,ढलेको तथा पहेंलो धान सुकाई तथा भण्डारण व्यवस्थापन तालिम सञ्चालन गर्न,आगामी बर्षका लागि जलवायु सहनशील जात प्रोत्साहन गर्न,प्रभावित किसानका लागि बीउ तथा मल सहायता कार्यक्रम सञ्चालन गर्न र क्षति मूल्याङ्कनको आधिकारिक तथ्याङ्कका आधारमा कृषक राहत तथा बीमा दावी प्रकृया अघि बढाउनुपर्ने गरी माथिल्लो निकायमा सुझाव समेत पेश गरेको छ ।