एमाले महाधिबेशनका लागि ताप्लेजुङबाट १२ जना प्रतिनिधि चयन हुने,बन्यो निर्वाचन समिति
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २० । नेकपा एमालेको ११ औं महाधिबेशनका लागि ताप्लेजुङबाट १२ जना प्रतिनिधि चयन हुने भएका छन् ।
७ हजार ९१ पार्टी संगठित सदस्य रहेको एमालेमा ताप्लेजुङबाट लागि कम्तिमा ४ महिला सहित १२ जना महाधिबेशन प्रतिनिधि चयन हुने जिल्ला पार्टी सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिनुभयो । उहाँका अनुसार समावेशीतर्फबाट ४ महिला,१ दलित र १ जना ४० बर्ष मुनिका युवा महाधिबेशन प्रतिनिधि चयन हुनेछन् । यस्तै खुल्लातर्फ ६ जना चयन हुने चाम्लिङले बताउनुभयो । एमालेको महाधिबेशन प्रतिनिधि चयन निर्देशिका अनुसार एक संघीय निर्वाचन क्षेत्र बराबर ४० बर्ष मुनि उमेर समूहका एकजना युवा प्रतिनिधि चयन हुनेछन् । ताप्लेजुङमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको छ । महाधिबेशन प्रतिनिधि छनौटका लागि एमाले कोशी प्रदेश कमिटी सदस्य राजकुमार चुडाँलको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष समेत रहनु भएका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले सर्वसम्मत रुपमा महाधिबेशन प्रतिनिधि चयनका लागि अधिकतम् पहल गरिने र नभए निर्वाचनबाट प्रतिनिधि चयन गरिने जानकारी दिनुभयो । सर्वसम्मत रुपमा नेतृत्व चयन नभए प्रत्येक वडामा निर्वाचन केन्द्र बनाई सम्वन्धित वडाका पार्टी संगठित सदस्यले आफ्नै वडामा रहेको निर्वाचन केन्द्रमार्फत महाधिबेशन प्रतिनिधि चयनका लागि निर्वाचनमा सहभागिता जनाउनेछन् । ताप्लेजुङमा ६१ वटा वडा रहेका छन् ।
मंगलवार र बुधवार बसेको एमाले ताप्लेजुङको सातौं पूर्ण बैठकले महाधिबेशन प्रतिनिधि चयनका लागि निर्वाचन समिति गठन गरेको हो । एमाले जिल्ला इञ्चार्ज तथा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा,सचिव राजकुमार भण्डारी,युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे समेत एमाले ताप्लेजुङको सातौं पूर्ण बैठकमा सहभागिताका लागि आउनु भएको थियो । बैठकले पछिल्लो राजनीतिक अवस्था,पार्टीको आगामी कार्यदिशा र संगठन परिचालन सहितका बिषयमा छलफल गरेको एमाले ताप्लेजुङले जनाएको छ । बैठकले पूर्णता दिन बाँकी रहेका विभागका पदाधिकारी तथा सदस्यहरुलाई समेत जिम्मेवारी दिएको एमाले ताप्लेजुङले जनाएको छ ।