सासुभत्ता नविकरणमा फक्ताङलुङका ७० प्रतिशत बढी लाभग्राही बायोमेट्रिक प्रणालीमा समेटिए
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरण अन्तरगत ७० प्रतिशत भन्दा बढी लाभग्राहीलाई बायोमेट्रिक प्रणालीमा आवद्ध गरेको जनाएको छ ।
बायोमेट्रिक भनेको मानवीय पहिचानका लागि प्रयोग गरिने प्रणाली हो,जसले बायोलोजिकल तत्वको परीक्षणका आधारमा मानिस वा अन्य जैविक तत्वको पहिचान गर्दछ । सहिछापको प्रयोग,रक्तपरीक्षणको आधारमा नाता सम्बन्ध कायम हुने आधारमा बायोमेट्रिक प्रणाली प्रयोग गरिन्छ । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सेवा प्रवाहलाई छिटो,पारदर्शी र विश्वसनीय बनाउनका लागि पालिका भित्रका सत प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता नविकरणमा बायोमेट्रिक प्रणालीमा आवद्ध गराउने लक्ष्यसहित पालिकाले अभियान चालेको जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूले दुर्गम क्षेत्रका सेवाग्राहीलाई सहजता प्रदान गर्न वडा कार्यालयको समन्वयमा घरदैलोमै आधारभूत स्वास्थ्य सेवाका साथ सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्ने कार्यलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो ।
पालिकाले सुरक्षित मातृत्व तथा स्वस्थ्य शिशु जन्म अभियान अन्तरगत नवविवाहित दम्पत्तिलाई फोलिक एसिड सचेतनामुलक कार्यक्रमसंगै शुभकामना कार्ड बितरण र स्वास्थ्य सेवा परार्मश कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने संकल्प गरेको छ । आधुनिक र विसासीपूर्ण जीवनशैलीका कारण उत्पन्न हुने दीर्घरोगहरु न्यूनीकरणका लागि पालिकाले खानपिनमा ध्यान,जीवनशैली सुधार,शारीरिक अभ्यास,मद्यमान र धुम्रपान सेवनको निर्मूलीकरणमा बिशेष ध्यान दिने योजना बनाएको छ । पालिकाले‘भाते बानी’परिवर्तन गरी रैथाने खाद्य बालीको उत्पादन र उपभोगमा जोड दिने बताएको छ । त्यसका लागि पालिकाले मकै,कोदो,फापर,जौ,गहुँसहितका खाद्यबाली उत्पादन र नियमित रुपले खाद्य परिकारको रुपमा भान्छामा प्रयोग हुने प्रवन्धका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भनेको छ ।
पालिका अध्यक्ष लिम्बू आफैंले आफुले पाउने मासिक पारिश्रमिक रकम अभिभावकविहिन,असाहाय तथा विपन्न बालबालिकाको शिक्षा,स्वास्थ्य,आवास तथा अन्य आभारभूत आवश्यकतामा खर्च गर्दै आउनु भएको छ । निर्वाचित भएदेखि नै अध्यक्ष लिम्बूले मासिक पारिश्रमिक आफुले नलिई फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसनमार्फत अभिभावकविहिन,असाहाय तथा विपन्न बालबालिकाको शिक्षा,स्वास्थ्य,आवास तथा अन्य आभारभूत आवश्यकतामा खर्च गर्दै आएको पालिकाले जानकारी दिएको छ ।