फुरुम्बुका भट्टराईलाई प्रहरीबाट ‘नागरिक सम्मान’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३ । मानव तस्करीको झल्को दिने भारत उत्तराखण्डको रुद्रपुर घटनामा मृत्यु भएकाको शव ल्याउन तथा प्रहरीसंग मिलेर अन्य नागरिकको उद्धारमा सक्रिय भएको भन्दै नेपाल प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० महेन्द्र भट्टराईलाई सम्मान गरेको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङद्धारा प्रदान गरिएको‘नागरिक सम्मान’ताप्लेजुङ प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ । भट्टराईलाई प्रहरीले शान्त र सुरक्षित समाज निर्माणमा असल नागरिकको भूमिका निर्वाह गर्दै प्रहरी कार्य तथा अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान गरेको कदर स्वरुप उक्त नागरिक सम्मान दिएको बताएको छ । आर्थिक प्रलोभनका कारण मानव तस्करीको भल्को दिने एक घटनामा जोडिएर भारत रुद्रपुर पुगेका ताप्लेजुङ फुङलिङका सोम लिम्बूको शव ल्याउन तथा उक्त घटनामा परी बन्धक झैं बनेका सयौं नेपाली नागरिकलाई उक्त चंगुलबाट छुटाएर आ–आफ्नो घरसम्म लैजान भट्टराईले प्रहरीसंग मिली साहसिक नागरिकको कर्तव्य निर्वाह गर्नु भएको थियो । फुङलिङका सोम लिम्बूको मृत्युपछि उहाँका भाई बिजय र फुङलिङ हाङदेवाका भाग्य लिम्बूले प्रहरीलाई दिएको बयानका आधारमा भारतको रुद्रपुरमा भएको उक्त घटनाको खुलासा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी)बेदप्रसाद गौतम तथा प्रहरी निरीक्षकद्धय रोहितकुमार शर्मा तथा विवेक बस्नेतको बिशेष सक्रियतामा अघि बढेको उक्त घटनाको अनुसन्धान र उद्धार कार्यमा भट्टराईले प्रहरीलाई ठूलो सहयोग गर्नु भएको थियो ।‘ज्यानकै बाजी थापेर गरेको योगदानलाई प्रहरीले सम्झिएकोमा खुसी लागेको छ’प्रहरीले गरेको सम्मानपछि प्रतिक्रिया दिदैं भट्टराईले भन्नुभयो । उद्धार कार्यमा दुईपटकसम्म रुद्रपुर पुग्दा र उद्धार गरी ल्याउँदा लाखौं खर्च भएको र आफु अहिले आर्थिक समस्यामा परिरहेको भट्टराईले बताउनु भएको छ । ऋणको भारी हलुङ्गो बनाउन आफुले सकेको सहयोगका लागि दाताहरुलाई हारगुहार गरेपनि ऋणमोचन हुन भने नसकीरहेको भट्टराईले सुनाउनुभयो । सोमको शव ल्याउन ‘किन् नेपाल’ संस्थाले सहयोग गरेको थियो । उक्त संस्थाका नवीन जोशीले बिशेष शव ल्याउन तथा अलपत्र परेका नागरिक उद्धार गर्न ठूलो सहयोग गरेको जिल्ला प्रहरी प्रमुख गौतम बताउँनुहुन्छ ।
के हो रुद्रपुर घटना
२०८२ साल जेठ ७ गते बुधबार बिहान दुई युवा (मृतक सोमका भाइ विजय लिम्बू र फुङलिङ हाङदेवाका भाग्य लिम्बू) सोमको मृत्युको लिखित जानकारीसहित प्रहरी कार्यालय पुग्नु भएको थियो । उहाँहरूले उतिबेला बताए अनुसार भाग्यमार्फत विजय र विजयमार्फत सोम रुद्रपुर पुग्नुु भएको थियो । भाग्य आफ्ना अर्का साथीमार्फत त्यहाँ पुग्नु भएको थियो । मासिक ६० हजार भारतीय रुपैयाँ कमाइ हुने, बिल काट्ने, कपडा प्याकिङ र कम्प्युटरमा काम गर्ने प्रलोभनमा उहाँहरू त्यहाँ पुग्नु भएको थियो । भाग्य चैत २१ गते बुटबलबाट सीमा पार गरेर रामपुर हुँदै रुद्रपुर पुग्नु भएको थियो । विजय वैशाख ४ गते र सोम वैशाख ७ गते त्यहाँ पुग्नु भएको थियो । आकर्षक कमाइको प्रलोभनमा परेका युवाहरूले कुटपिट,दुव्र्यवहार र यातना सहनुपरेको बताएका थिए ।

विजय र भाग्यका अनुसार रुद्रपुरमा ‘ग्याल्बे कम्पनी’ भन्नेले कोठा भाडामा लिएर राखेको थियो । त्यहाँ पुग्ने बित्तिकै आधार कार्ड र रासन कार्ड बनाउन भन्दै प्रतिव्यक्ति ५०–६० हजार रुपैयाँ लिइन्थ्यो । कम्पनीले प्रत्येक व्यक्तिलाई ५–७ जनाको समूह ल्याउन दबाब दिन्थ्यो । म्यासेन्जरमा कुरा गरेर साथी बोलाएपछि थप सम्पर्क गर्न दिइँदैन थियो । विजयले दाजु सोमलाई बोलाउनुभयो । सोमलाई ग्याल्बे कम्पनीले पैसा जम्मा गर्न भनियो । विजयले बुबा बिरामी भएको भन्दै भिडियो पठाउनुभयो । अस्पतालको कार्ड देखाउनुभयो । कम्पनीले मागेको जति पैसा नदिएपछि उहाँलाई कुटपिट गरेर कोठाबाट निकालियो र भाग्न सफल हुँदा विजय जसोतसो नेपाल फर्किनुभयो । दाजु सोमलाई त्यहीँ छाडेर आउनु भएका उहाँले केही समयपछि दाजुको मृत्युको खबर पाउनुभयो ।

विजय र भाग्यका अनुसार रुद्रपुरमा करिब पाँच सय नेपाली यस्तै प्रलोभनमा परेर बसेका थिए । सोमको मृत्यु र विजय र भाग्यको बयान पछि ताप्लेजुङ प्रहरीले प्रादेशिक प्रहरी हुँदै प्रहरी प्रधान कार्यालय समेतलाई यो बिषयमा जानकारी गरायो । त्यसपछि भारतीय प्रहरीसंगको समन्वय हुँदै रुद्रपुर घटनामा झण्डै मानव तस्करीकै भल्को दिने उक्त घटनामा परी पीडित भएकाहरुको उद्धार गरिएको थियो । यो उद्धार कार्यमा प्रहरीसंगको सहकार्यमा भट्टराईले साहसिक योगदान दिनु भएको थियो ।

 

Similar Posts