कृषिजन्य उत्पादनको अर्गानिक प्रमाणीकरण प्रकृया अघि बढाउने तयारीमा फक्ताङलुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक बर्ष २०८३।८३ देखि पालिका क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनको अर्गानिक प्रमाणीकरण प्रकृया अघि बढाउने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले बिषादीरहित र अर्गानिक उत्पादन सहितको गाउँपालिका बनाउने उद्देश्य अनुरुप चालु बर्षमा पालिका क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनको अर्गानिक प्रमाणीकरण गर्न सम्वन्धित निकायसंग समन्वय र पहल भइरहेको जानकारी दिनुभयो । पालिकाले रसायनिक मल तथा बिषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक मल,जैविक झोल मल तथा वनस्पतिजन्य बिषादीको उत्पादन तथा प्रयोगलाई एकसाथ अघि बढाउने पालिकाको तयारी रहेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।
पालिकाले छिरुवामा रहेको एकीकृत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्रबाट जैविक मलको व्यवसायिक उत्पादन गरी सहुलियत दरमा किसानलाई उपलब्ध गराउने व्यवस्था गर्न लागेको जनाएको छ । यसबाहेक पालिकाले प्रत्येक वडामा जैविक मल तथा जैविक बिषादी उत्पादन केन्द्र बनाउने घोषणा समेत गरेको छ । पालिकाले पालिकाको आर्थिक समृद्धिको आधार कृषि तथा पशुपंक्षि क्षेत्रलाई मान्दै उत्पादन तथा उत्पादकत्वमा बृद्धि,पूर्ण व्यवसायिक,आधुनिकीकरण,मूल्य श्रिंखलाको विकास,रोजगारी सृजना,आय आर्जनमा बृद्धि र कृषि उद्यमशिलताको प्रर्वद्धनलाई केन्द्रमा राखेको जनाएको छ ।
पालिका भित्रको कृषियोग्य जमिनको वैज्ञानिक पहिचान गरी ७ वटा वडा रहेको पालिकाका प्रत्येक वडामा ‘एक पकेट,एक उत्पादन’कार्यक्रम कार्यान्वयनमा ल्याउने पालिकाको तयारी रहेको छ । ‘एक पकेट,एक उत्पादन’कार्यक्रम अन्तरगत पालिकाले वडा नं ६ लेलेपलाई मौरी पालन व्यवसायको सम्भावना औंल्याएको छ । वडा नं ७ ओलाङचुङगोला चौंरी,याक र च्याङ्ग्रासहित हिमाली पशुपालनका लागि बलियो सम्भावना बोकेको क्षेत्रको रुपमा पालिकाले औंल्याएको छ । पालिकाले किसानको उत्पादन लागत न्यूनीकरण तथा उत्पादनको मूल्य अभिबृद्धिका लागि आधुनिक कृषि औजार,साना कृषि यन्त्र र सिचाँई प्रविधिमा लागत साझेदारीको अवधारणा ल्याएको छ ।
पालिकाले पोषणमैत्री तथा अर्गानिक तरकारी तथा सागसब्जी उत्पादनलाई प्रर्वद्धन गर्न‘एक घर,एक करेसाबारी’को अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्ने बताएको छ । पालिकाले अर्गानिक कृषि प्रणालीलाई प्रभावकारी आत्मसाथ गर्ने कृषकको सम्मान बढाउन प्रत्येक बर्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रम समेत राख्ने भएको छ । कृषकले उत्पादन गरेका अर्गानिक तथा गुणस्तरीय कृषि उपजका सामग्रीको सहज संकलन,ढुवानी,भण्डारण र बिक्रीको व्यवस्थापनका लागि फक्ताङलुङ कृषि एम्बुलेन्स सेवा सुरु गरेको जनाएको छ ।