पूर्व विद्यार्थी समाज बासुसं माविमा रमेश

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २२ । मोरङको उर्लावारीमा सम्पन्न पूर्व विद्यार्थी समाज बासुसं मावि मेदिवुङको भेलाले प्राध्यापक डाक्टर रमेश घिमिरे अध्यक्ष रहेको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा उमानाथ बराल,सचिवमा कुलप्रसाद भट्टराई,उपसचिवमा सागरमणि दाहाल(यायावर मणि) र कोषाध्यक्षमा रुक्मिणा अधिकारी बजगाँई चयन हुनु भएको छ । समितिका सदस्यहरुमा दुर्गाप्रसाद पौडेल,बाबुराम निरौला,गोपाल घिमिरे र यसोदा भट्टराई चयन हुनु भएको नवनिर्वाचित उपसचिव दाहालले जानकारी दिनुभयो । केहिदिन पछि कार्य समितिलाई पूर्णता दिने दाहालले बताउनुभयो । कार्यक्रममार्फत विद्यालयका संस्थापकद्वय गेहनाथ बराल र भीमनाथ बराललाई मरणोपरान्त सम्मान गरिएको छ । यो सम्मान संस्थापक परिवारका सदस्य विराटनगर निवासी काशीनाथ बरालले ग्रहण गर्नुभयो । उक्त कार्यक्रममा भवन निर्माता हरिकृष्ण बराललाईसमेत मरणोपरान्त सम्मान गरिएको थियो उक्त सम्मान स्वर्गीय हरिकृष्णका छोराद्धय हेमसागर बराल र बद्री बरालले संयुक्त रूपमा ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममार्फत बासुसं मावि मेदिवुङका संस्थापक प्रधानाध्यापक पशुपतिनाथ भट्टराईलाई पनि मरणोपरान्त सम्मान गरियो । यो सम्मान वहाँका छोराहरू उमानाथ र शान्तिराम भट्टराईलाई अर्पण गरिएको थियो । भेलामार्फत पूर्व शिक्षकहरूमध्येबाट भोलानाथ घिमिरे,नरेन्द्रकुमार गुरुङ र रामचन्द्र गौतमलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयबाट प्रथम पटक पूर्वमध्यमा परीक्षामा संलग्नभई सफलता प्राप्त गर्ने विद्यार्थीहरूमध्येका ज्येष्ठ अग्रज पूर्व विद्यार्थी खगेन्द्र भण्डारीलाई समेत सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरूलाई सम्मान स्वरूप सम्मान पत्र र दोसल्ला प्रदान गरिएको थियो । यस कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक डिल्लीरमण बरालको डिजिटल शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । कार्यक्रम विद्यालयका पूर्व प्रधानाध्यापक रामचन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।