तेस्रो ताप्लेजुङ गोल्डकप : दुई बिदेशी सहित अनुभवी खेलाडीको प्लेईङ सेट’तयार गर्दै तेल्लोक स्पोर्टिङ क्लव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १२ । तेल्लोक स्पोर्टिङ क्लवले दुई बिदेशी सहित अनुभवी र राष्ट्रिय खेल खेलेका खेलाडी समेत सहभागी गराएर साउन २४ गतेबाट हुने तेस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गर्ने भएको छ ।

दुई बिदेशी खेलाडी फोफोना इभ्राइम र सोला स्यामुइलसहितका अनुभवी खेलाडीले भरिएको ‘प्लेईङ सेट’तयार गर्दै तेल्लोक स्पोर्टिङ क्लवले प्रतिश्पर्धी अन्य ७ टिममाथि खेलका क्रममा गतिलो दबाब बढाउने नीति लिएको छ ।‘हामी खेलमा उत्साह,अनुभव,मेहनेत र कौशलताको फ्युजनबाट उपाधि रक्षाको अभियानमा केन्द्रित हुने छौं’तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले भन्नुभयो । उहाँले जिल्लाका अनुभवी र खेल कौशलमा निपूर्ण खेलाडीलाई समेत सहभागी गराएर ‘प्लेईङ सेट’को तयारी गरिएको बताउनुभयो । जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई आयोजक लाखेजात्रा सञ्चालन समितिसंगको समन्वयनमा तेल्लोक स्पोर्टिङ क्लवले बन्द प्रशिक्षण गराउन थालेको छ । खेलमा जितको लक्ष्य सहभागी सबैको हुने भएकोले खेलको मर्यादा भित्र रहेर स्वच्छव प्रतिश्पर्धा आफ्नो जिम्मेवारी हुने तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष भट्टराईले बताउनुभयो । साउन २४ बाट ३१ गतेसम्म ताप्लेजुङको फुङलिङस्थित भानुजन माविको खेल मैदानमा हुने तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा भारतको एक सहित ८ टिम सहभागी हुँदैछन् ।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार आयोजककोतर्फबाट सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले प्रतिश्पर्धा गर्ने छ । यस्तै चर्च व्वाइज काठमाडौं,साहारा क्लव पोखरा,रेडस्टार फुटबल क्लव झापा,द योङ ब्रर्दश क्लव इटहरी,सलहेश युवा क्लव सिराहा,फिदिम स्र्पोटिङ क्लव पाँचथर र आमन्त्रित फुटबल टोलीको रुपमा भारतको सिलगुढीस्थित लेजण्ड फुटबल एकेडेमी सहभागी हुने निश्चित भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । प्रतियोगिताका बिजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार सर्बोत्कृष्ट हुने खेलाडीले यसपटक १ सय ५० सिसिको यमाहा सलुटो मोटरसाइकल प्रदान गरिने भएको छ ।

भानुजन माविको खेल मैदानमा भएका खेलहरुमा सर्बोत्कृष्ट हुने खेलाडीले पहिलोपटक मोटरसाइकल पुरस्कार पाउन लागेका छन् । सर्बोत्कृष्ट हुने खेलाडीले पाउने मोटरसाइकल पुरस्कारको समन्वय पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले गरिदिनु भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । बिधागत पुरस्कारतर्फ सर्बाधिक गोलकर्ता,उत्कृष्ट फरवार्ड,नव उदयीमान खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ७ हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ७ लाख वा सो भन्दा माथि सहयोग उपलब्ध गराउने कम्पनी वा संघसंस्थालाई टाइटल स्पोन्सरमा राखिने भएको छ ।

Similar Posts