असोजको तुलनामा कात्तिकमा पाथीभरा मन्दिर पुग्ने दर्शनार्थी १० गुणाले बढे,महिना दिनमै पुगे ६१ हजार बढी दर्शनार्थी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको संख्यामा १० गुणा भन्दा बढीले बृद्धि भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार कात्तिक महिना ६१ हजार दुई सय ७३ जना दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् । असोज महिनामा पाँच हजार नौसय ४९ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा पाथीभरा मन्दिरमा आएका दर्शनार्थीको संख्या चालू आर्थिक बर्षकै सबैभन्दा बढी हो । अघिल्लो आर्थिक बर्षको एक महिना भरीमा पनि यतिधेरै दर्शनार्थी आएका थिएनन् ।

समितिको तथ्याङक अनुसार अघिल्लो आवको कात्तिकमा ४९ हजार एकसय ६३ जनाले मन्दिरको दर्शन गरेका थिए । आव २०७९।८० को कात्तिक महिनामा १७ हजार एकसय ७० जनाले पाथीभराको दर्शन गरेका थिए । आव २०८०।८१ को चैत महिनामा सबैभन्दा बढी ५२ हजार ४ सय ५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । चालू आवको असोज महिनामा भने अघिल्लो आवको भन्दा करिव आधा मात्र दर्शनार्थी मन्दिरको दर्शन गर्न पुगेका थिए । अघिल्लो आवको असोज महिनामा १० हजार तीनसय ४३ जनाले मन्दिरको दर्शन गरेका थिए । चालू आवको असोज महिनामा पाँच हजार नौसय ४९ जना दर्शनार्थी मन्दिर पुगेका थिए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालू आवको असोज महिनामा तीर्थालुको संख्या कम हुनुमा बाढी पहिरोको बितण्डा प्रमुख कारण थियो । असोज १२ गते देखि परेको अविरल बर्षापछि आएको बाढी तथा पहिरोले मेची राजमार्गको इलाम राजदुवाली क्षेत्र,पाँचथरको रमिते क्षेत्रका साथै ताप्लेजुङ–पाँचथर जोड्ने हेंवाखोलामा रहेको बेलिब्रिज बगाएर सडक अबरुद्ध थियो । तमोर करिडोर अन्तरगत नावाखोला सहितका स्थानमा देखिएको अवरोध पछि तमोर करिडोर समेत केहिसाता सञ्चालनमा आउन कठिन भएपछि पाथीभराका दर्शनार्थीको संख्या असोज महिनामा ह्वात्तै घटेको थियो ।

ताप्लेजुङ सदरमुकाम सम्म सिधा यातायात सम्पर्क नहुने समस्याका कारण तीर्थालुको अधिक चाप हुने नवरात्रको समयमा पनि पाथीभरा मन्दिर सुनसान जस्तै भएको थियो । तमोर करिडोर र मेची राजमार्ग दुबै क्षेत्रमा यातायात सुचारु भएपछि तीर्थालुको संख्या एकाएक बढ्न थालेको हो । अहिले मौसम समेत सफा रहेका कारण पाथीभरा क्षेत्रमा तीर्थालुहरुको आवागमनमा बृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरी–धरान–माझीटार हुँदै तमोर करिडोर र झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्गबाट ताप्लेजुङ सम्म पुग्न सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।

काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट करिव पाँच किलोमिटर पैदलमार्ग पार गरेपछि पाथीभरा देवस्थल पुगिन्छ । पछिल्ला दिनहरुमा पदमार्ग समेत सहज भएको तथा पदमार्गका विभिन्न स्थानमा पानी र हिउँ ओताउने फाइवर छाना समेत लगाइएको छ । तर काफ्लेपाटी सम्मै फाइवर छाना ओढाउने योजना भने पूरा हुन बाँकी छ ।

Similar Posts