दोभानका अग्निपीडितलाई नेकपाको राहत सामग्री
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १२ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई राहत सहायता जुट्ने क्रम जारी रहेको छ । गएको बिहीबार दिउँसो लागेको आगलागीबाट पीडित भएका परिवारका लागि राहत सहायता जुट्ने क्रम जारी रहेको हो ।
दोभानका अग्निपीडितलाई राहत सहायता जुट्ने क्रमसँगै सोमबार नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले राहत सहायता उपलब्ध गराएको छ । आगलागीस्थल दोभान बजारमै पुगेर अग्निपीडितलाई राहत सामग्री वितरण गरिएको नेकपाका जिल्ला संयोजक दुर्गाहाङ श्रेङचोङ्बाङले जानकारी दिनुभयो ।
संंयोजक श्रेङचोङ्बाङका अनुसार अग्निपीडित प्रत्येक पािरवारलाई फाइबर सिरक, डसना, तन्ना, सिरानी लगायतका सामग्री वितरण गरिएको छ । नेकपा केन्द्रीय अनुशासन आयोगका सदस्य इन्द्रकुमार श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य निता सिवा, जिल्ला सहइन्चार्ज विष्णुकुमार लिम्बू लगायतको उपस्थितिमा अग्निपीडितलाई राहत सामग्री वितरण गरिएको हो । राहत सामग्री वितरण कार्यक्रममा नेकपाका रामचन्द्र पोमु, गंगाराम शंखर, चन्द्र तामाङ लगायतका जिल्लास्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो ।
यसअघि जिल्ला विपद् व्यवस्थापन समिति, ताप्लेजुङ उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, सत्यसाई सेवा सङ्गठन नेपालले विभिन्न राहत सहायता वितरण गरेको छ । नेकपा (एमाले) ताप्लेजुङले पनि राहत रकम वितरण गरेको छ ।
असोज ८ गते बिहीबार दिउँसो १ः४० बजेतिर भएको दोभान बजारमा भएको आगलागीबाट आठ घर पूर्णरुपमा र दुई घर आंशिक रुपमा जलेर नष्ट भएका छन् । त्यस्तै आगलागीबाट १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी हुन गएको प्रहरीले जनाएको छ ।
दोभान बजारमा यसअघि २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी भएको थियो । त्यसबेला भएको आगलागीबाट ४९ घर जलेर नष्ट हुँदा करिव ४० करोड रुपियाँ बढी क्षति हुन पुगेको थियो । दोभान बजार सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठुलो बजार तथा व्यापारिक केन्द्र हो ।