फुङलिङको बजेट ७६ करोड बढीको

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२।८३ का लागि ७६ करोड २७ लाख ३३ हजार ३ सय ८९ रुपैयाँको बजेट ल्याएको छ ।

नगरसभामा नगरप्रमुख अमिर मादेनले नीति तथा कार्यक्रम र उपप्रमुख भीमादेवी ओझाले बजेट पेश गर्नु भएको छ । उपप्रमुख ओझाका अनुसार कुल बजेटमध्ये चालुतर्फ ५२ करोड ७२ लाख ४४ हजार ८ सय १७ अर्थात् ६९ प्रतिशत र पुँजीगततर्फ २३ करोड ५५ लाख १८ हजार ५ सय ७२ रुपैयाँ अर्थात् ३१ प्रतिशत खर्च हुनेगरी बिनियोजन गरिएको छ । क्षेत्रगत बजेटको अवस्थालाई हेर्दा सामाजिक विकासतर्फ सबैभन्दा बढी रकम खर्च हुने छ ।

सामाजिक विकासतर्फ ३९ करोड ४१ लाख १० हजार अर्थात् बकुल बजेटको ५१.६७ प्रतिशत,पूर्वाधार विकासतर्फ १७ करोड ८४ हजार अर्थात् २२.३ प्रतिशत,आर्थिक विकासतर्फ २ करोड ६४ लाख १७ हजार अर्थात् ३.४ प्रतिशत खर्च हुने गरी प्रस्ताव गरिएको छ । सुशासन र अन्तरसम्वन्धित क्षेत्रतर्फ ७४ लाख ९१ हजार अर्थात् ०.९८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १६ करोड ४६ लाख ८ हजार अर्थात् २१.५८ प्रतिशत खर्च गर्ने प्रस्ताव गरिएको छ ।

नगरपालिकाले उक्त बजेटको स्रोत व्यहोर्ने क्षेत्रको रुपमा संघीय सरकार बित्तीय समानीकरण अनुदानतर्फबाट १४ करोड ६९ लाख,संघीय सरकारबाट राजश्व बाँडफाँडतर्फबाट प्राप्त हुने ९ करोड २२ लाख ९३ हजार,संघीय सर्शत अनुदानतर्फबाट प्राप्त हुने ३३ करोड ५५ लाख हुने अनुमान गरिएको छ । यस्तै संघीय सरकारबाट प्राप्त हुने २ करोड ९३ लाख बिशेष अनुदान,८५ लाख समपुरक अनुदान,प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ४६ लाख १० हजार,प्रदेश राज्रव बाँडफाँडबाट प्राप्त हुने १ करोड २ लाख ५५ हजार,प्रदेश समपुरक अनुदान ९७ लाख,प्रदेश सर्शत अनुदान १ करोड १९ लाख ४१ हजार,स्थानीयबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्फको ९५ लाख ८३ हजार र अल्या समेतको आन्तरिक स्रोत ९ करोड २८ लाख ८० हजार तथा जनसहभागितातर्फ १५ लाख व्यहोर्नेगरी बजेटको आम्दानीका स्रोतहरु पहिचान गरिएको छ ।

नगरपालिकाले‘यातायात सञ्जाल,व्यावसायिक कृषि पर्यटन र पूर्वाधार,शिक्षा,स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’लाई बजेट दीर्घकालिन सोचको रुपमा लिएको जनाएको छ । नगरपालिकाले पूर्वाधार विकासतर्फ पालिकाको केन्द्रसंग सबै वडालाई जोड्ने सडकहरु बाह्रैकाल सवारी कुद्ने तहको बनाउने देखि ति सडकहरु कालोपत्रे गर्न प्रदेश तथा संघ सरकारसंग साझेदारी गर्ने नीति लिएको छ । नगरप्रमुख मादेनले पूर्वाधार विकासतर्फ १३ वटा नीति निर्धारण गरेको छ । भवन तथा सहकारी विकासतर्फ नगरपालिका क्षेत्रमा रिङरोड निर्माण कार्यको सम्भाव्यता अध्ययन देखि आउँदो साउन १ गते देखि निर्माण गरिने सम्पूर्ण संरचनाहरु इजाजत नलिई बनाएमा त्यस्तो संरचनाको अभिलेखीकरणलाई बन्द गरिने सहितका १० वटा नीति निर्धारण गरिएको छ ।

नगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धन तथा पदमार्गलाई सहज बनाउन आवश्यक स्थानमा पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिने नगरपालिकाको नीति छ । निर्माणाधिन अवस्थामा रहेका खेल मैदानको निर्माण कार्यलाई स्तरोनन्नती सहितका कार्य गरी बहुउद्देश्यीय स्वरुपको बनाईने छ । सिँचाई विकासतर्फ किसानलाई सिचाँईका क्रममा प्रयोग हुने यन्त्र उपकरणमा सहुलियत कर्जाको व्यवस्था गर्ने पालिकाको नीति छ । नगरपालिकाले उर्जाका स्रोतहरुको उचित प्रयोगमार्फत उज्यालो नगर अभियानलाई निरन्तरता दिने भएको छ । सामाजिक विकासतर्फ शिक्षाको क्षेत्रमा‘प्रविधिमैत्री,गुणस्तरीय र रोजगारमुलक शिक्षाको आधार,नगरपालिकाको सामुदायिक बिद्यालयको शैक्षिक वातावरणमा सुधार’नारा तय गरेर कार्यक्रम अघि बढाईएको छ ।

शिक्षातर्फ ३४ नीति अघि सारिएको छ । स्वास्थ्यतर्फ जेष्ठ नागरिकहरुलाई बर्षमा कम्तिमा २ पटक घरमै गई स्वास्थ्य परीक्षणको प्रवन्ध गर्ने सहितका २४ नीति अघि सारिएको छ । खेलकुदतर्फ हरेक वडामा एक खेल मैदान निर्माण तथा निर्माण भएका खेलमैदानको स्त्तरोन्नतीका कार्य अघि बढाउने सहितका ७ नीति अघि सारिएको छ । नगरपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण,खानेपानी तथा सरसफाई,धर्म संस्कृतिको प्रवद्र्धन,कृषि,पशु सेवा,उद्योग वाणिज्य,पर्यटन विकास,सहकारी,वन तथा वातावरण,भू तथा जलाधार संरक्षण,जलवायु परिवर्तन तथा वातावरण संरक्षण,विपद् व्यवस्थापन,सार्वजनिक सेवा तथा क्षमता विकास सहितका नीतिहरु प्रस्तुत गरेको छ ।

Similar Posts