| |

रिड नेपालद्वारा स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान गरेको छ । रिड नेपालले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका विभिन्न विद्यालयका स्रोत तथा प्रतिनिधि शिक्षकलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।
ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका केही वडाहरुलाई कार्यक्षेत्र बनाएर रिड नेपालले शैक्षिक गतिविधि गर्दै आएको छ । शिक्षण सिकाइका क्रममा कक्षाकोठामा देखिने समस्या समाधानको सहजीकरण गर्न जिम्मेवारी तोकिएका १३ जना स्रोत तथा प्रतिनिधि शिक्षकलाई सहभागी गराई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको रिड नेपालले जनाएको छ ।
क्षमता अभिवृद्धि तालिमको सहजीकरण रिड नेपालमा आवद्ध प्रशिक्षकहरुले गर्नुभएको बताइएको छ । क्षमता अभिवृद्धि तालिमले कक्षा कोठामा देखिने समस्या सहज रुपमा समाधान गर्न र शिक्षण सिकाइको पहुँच विद्यार्थीसम्म पु¥याउनलाई थप सहयोग पुग्ने विश्वास लिएको रीड नेपाल कार्यक्रमका जिल्ला प्रवन्धक राजेन्द्र पन्तले बताउनुभयो । सिकाइको सुनिश्चितता गर्न र शैक्षिक गुणस्तर सुधार गर्नमा पनि तालिम उपयोगी हुने अपेक्षा राखिएको पन्तले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले तालिमबाट सिकेको सीप र क्षमतालाई आफ्नो विद्यालय तथा कक्षामा प्रदर्शन गर्न सहभागी शिक्षकहरुलाई सुझाव दिनुभयो । विद्यालयको शैक्षिकस्तर सुधार गर्न सकिन्छ भन्ने सोच लिएर नियम र अनुशासनलाई ख्याल गर्न पनि भट्टराईले आग्रह गर्नुभयो ।
उहाँले स्थानीय, प्रदेश र संघीय सरकारको शिक्षा क्षेत्रमा राम्रै लगानी रहेको चर्चा गर्दै यसको मूल्याङ्कन र अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । राज्यको लगानी साथै शिक्षा क्षेत्रमा योगदान गर्दै आएका निकाय वा संस्थाहरुलाई सहयोग पुग्नेगरी शिक्षकले भूमिका निर्वाह गर्नसमेत आग्रह गर्नुभयो ।
यता स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिमसँगै हालसम्मको शैक्षिक उपलब्धिसम्बन्धी समीक्षा तथा आगामी योजनाबारे छलफलसमेत गरिएको रीड नेपालकी शिक्षा विकास अभिकृत रोमाकुमारी माबोले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघका जिल्ला सचिव सुवास आचार्यले विद्यार्थीलाई विद्यालयमा केन्द्रित गराउन हालसम्म रिड नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो ।
यसैबीच हालसम्म प्रभावकारी जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कन गर्दै रिड नेपालले फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि सुब्बालाई सम्मानसमेत गरेको छ । सो विद्यालयका स्रोत शिक्षकका रुपमासमेत रहनुभएका प्रधानाध्यापक सुब्बालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रिड नेपालकी कर्मचारी मनिषा तामाङले जानकारी दिनुभयो ।
रिड नेपालले सन् २००७ देखि हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका वडाहरुमा कार्यक्षेत्र बनाएर शैक्षिक क्षेत्रमा निरन्तर योगदान गर्दै आइरहेको छ । रिड नेपालले कार्यक्षेत्र भित्रका ३५ वटा सामुदायिक विद्यालयमा विद्यालयको पूर्वाधार क्षेत्र, शिक्षण सिकाइ, शिक्षक तथा विद्यार्थीका लागि तालिम, अतिरिक्त क्रियाकलाप लगायतसँग सम्बन्धित कार्य गरिरहेको छ । तालिम सदरमुकाम फुङ्लिङमा आइतबार र सोमबार दुई दिन सञ्चालन गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts