लोक कल्याणकारी विज्ञापन वापतको बिल नबुझ्न पत्रकार महासंघ ताप्लेजुङद्धारा हुलाक कार्यालयको ध्यानाकर्षण

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ५ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले लोक कल्याणकारी विज्ञापन वापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालय ताप्लेजुङको ध्यानाकर्षण गरेको छ ।

छापा माध्यमले प्राप्त गर्दै आएको लोक कल्याणकारी विज्ञापन वापतको मासिक रकममा भारी कटौति हुनेगरी सरकारले कार्यविधि संशोधन गरी लागु गरेको बिषयप्रति असहमति जनाउँदै पत्रकार महासंघ ताप्लेजुङले जिल्ला हुलाक कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको पत्रकार महासंघ ताप्लेजुङका सचिव कृष्ण फुरुम्बो लिम्बूले जानकारी दिनुभयो । पत्रकार महासंघ ताप्लेजुङका उपाध्यक्षद्धय सन्तोष पुर्कुटी र संगिता कार्की तथा पूर्व अध्यक्ष खगेन्द्र अधिकारीसहितले जिल्ला हुलाक कार्यालय प्रमुख हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख पाण्डेले पत्रकार महासंघ ताप्लेजुङले बुझाएको ध्यानाकर्षण पत्र नेपाल सरकार सूचना प्रविधि तथा सञ्चार मन्त्रालय,कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय,विज्ञापन बोर्ड र हुलाक सेवा विभागमा पठाइने जानकारी दिनुभयो ।

पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले आर्थिक बर्ष २०८३।८४ का लागि प्रस्तुत गरेको बजेट संघीय संसदका दुबै सदनबाट पारित भई कार्यान्वयनमा आइरहेको अवस्थामा बजेटमा व्यवस्था गरिएको रकमसंग बाझिने गरी छापा माध्यमले प्राप्त गर्दै आएको लोक कल्याणकारी विज्ञापन वापतको मासिक रकममा भारी कटौति हुनेगरी ल्याईएको कार्यविधिले सरकारको सञ्चार माध्यमप्रतिको अनुदार दृष्टीकोण प्रकट भएको ठहर गरिएको छ ।

नेपाल पत्रकार महासंघले सरकारले जारी गरेको पछिल्लो कार्यविधि खारेजीको माग गर्दै आइरहेको अवस्थामा समेत विज्ञापन बोर्डले महासंघको आग्रहलाई वेवास्ता गर्दै लोक कल्याणकारी विज्ञापन वापतको बिल बुझ्ने कार्य अघि बढाइरहेकोप्रति पत्रकार महासंघको ताप्लेजुङ शाखाले बिरोध जनाएको छ । पत्रकार महासंघको ताप्लेजुङ शाखाले पत्रकार महासंघले उठाउँदै आएका मागको उचित सम्बोधन नभएसम्मका लागि लोक कल्याणकारी वापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालयलाई आग्रह गरेको छ । संशोधित कार्यविधि खारेजी गरी बजेटमा भएको व्यवस्था अनुसार लोक कल्याणकारी विज्ञापनको रकम उपलब्ध गराउने वातावरण निर्माण गर्न तथा हालको अवस्थामा सम्वन्धित बिल नबुझ्न पत्रकार महासंघ ताप्लेजुङ शाखाले जिल्ला हुलाक कार्यालयलाई आग्रह गरेको छ ।

Similar Posts