फुनपा १० मा जनतासंग जनप्रतिनिधि कार्यक्रम:‘खराने’शब्द सहित लोडर र खुल्ला मैदानसम्मका बिषयमा नागरिकका प्रश्न

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० का नागरिकले नगरप्रमुख अमिर मादेन सहित नगर कार्यपालिकालाई लोडर मेसिन ल्याउने भए त्यसको कार्ययोजना सहित सार्वजनिक जग्गा खरिद सम्मका सवालमा प्रश्न गरेका छन् ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङको सजहीकरणमा फुङलिङ नगरपालिकाद्धारा बुधवार वडा नं १० फुरुम्बुमा आयोजित ‘जनतासंग जनप्रतिनिधि’कार्यक्रममा नागरिकले ‘खराने’भनेर गरिने गलत सम्बोधन संस्कार र संस्कृति बिरोधी रहेको भन्दैआपत्ति समेत उठाए । स्थानीय नवीन फुरुम्वोले मेयर मादेनले दिएको ‘खराने’ सहितको शब्दको अभिव्यक्तिप्रति आपत्ति उठाउँदै प्रश्न गर्नु भएको थियो । फुरुम्बोले ‘मेयरले जे धर्म र संस्कृति मान्छ,हामी सबैले उसैको पछि कुदिदिनुपर्ने हो र ? भनेर प्रश्न गर्नु भएको थियो । फुरुम्बोले नगरपालिकाले खुल्ला मैदानको नाममा किन्न लागेको भनिएको जग्गा खरिद प्रकृयाप्रति समेत प्रश्न उठाउनुभयो । वडा नं ३ मा करौंडो खर्च भइसकेको रंगशाला अलपत्र पारेर नयाँ ठाउँमा जग्गा किन्न खोज्नु उपयुक्त नहुने उहाँको भनाई थियो ।
स्थानीय सुकबहादुर लिम्बूले नगरपालिकाले लोडर र जेसीभि मेसिन सहितका उपकरण खरिद गर्नुअघि कम्तिमा नगर क्षेत्रका बिभिन्न स्थानमा शाखा बाटो बनाउन र त्यसपछि मात्र यस्ता सामान खरिद गर्न सुझाउनुभयो । स्थानीय रेवतबहादुर लिम्बूले शिक्षक नियुक्तिको अनुमति दिएर परीक्षा लेख्न आएका परीक्षार्थीलाई हल भित्र पस्न लाग्दा ‘मेयरको ठाडो आदेश’ले परीक्षा रोक्नुलाई चलखेलको रुपमा औंल्याउनुभयो । रेवतबहादुरले नगर शिक्षा समितिका प्रमुखले नै बिद्यालय व्यवस्थापन समितिको अधिकार मिचेको आरोप लगाउनुभयो । पाथीभरा आधारभूत बिद्यालयका प्रधानाध्यापक डम्बरहादुर थापाले बिद्यालयको संकट टार्न गरिएको शिक्षक नियुक्तिका क्रममा बिद्यालय व्यवस्थापन समितिलाई प्राप्त अधिकार समेत कुल्चनु नगर शिक्षा समितिको ठाडो हस्तक्षेपको रुपमा परिभाषित गर्नुभयो ।
मयाम मावि फुरुम्बुका प्रधानाध्यापक मानबहादुर कार्कीले बिद्युतको समस्याका कारण अहिले बिद्युतीय बोर्ड थन्क्याएर ह्वाईटबोर्ड खरिद गर्ने प्रकृयामा आफुहरु गएको दुखेसो पोख्नुभयो । उहाँले जनतासंग कम्तिमा ६ महिनामा एकपटक जनप्रतिनिधि आउँदा जनताका गुनासोको उचित सुनुवाई हुने सुझाउनुभयो । फुरुम्बुका नागरिक प्रेम दाहाल,वीरबहादुर लिम्बू,खगेन्द्र कार्की र सूर्य सिग्देलले नगरपालिकाको बजेट बजारमुखी बनेको भन्दै यसलाई सच्याएर अघि बढ्न सल्लाह दिनुभयो । उक्त कार्यक्रममा फुनपा १० फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूले भूगोल र जनसंख्या सहितका बिषयका आधार मानेर नगरपालिकाले बजेट निर्धारण गर्नुमा नगरपालिकाको पदाधिकारी टिम आफुखुस चलेको भन्दै नगरप्रमुख मादेन र उपप्रमुख भीमादेवी ओझाप्रति रोष प्रकट गर्नुभयो । उहाँले नगर शिक्षा समितिको म्याद सकिएपनि नगरपालिकाले म्याद सकिएको समितिबाट काम टारिरहेको दावी गर्नुभयो ।
नागरिकले उठाएका प्रश्नको जवाफ दिदैं प्रमुख अमिर मादेनले आफु किराँत धर्मावलम्बी भएको बताउँदै आफु कुनै धर्म,संस्कार र संस्कृतिको भावना विपरित नगएको दावी गर्नुभयो ।‘म पनि खराने नै हो,म पनि किराँत धर्म मान्छु,खरानेले खराने भन्दा के बिग्रियो ?’आफ्ना अघिल्ला अभिव्यक्तिको बचाउ गर्दै नगरप्रमुख मादेनले भन्नुभयो । प्रकृति र संस्कृतिको संरक्षण गर्दै विकास निर्माण कार्यलाई तीव्र गतिका साथ अघि बढाउनुपर्ने आफ्नो मत रहेको मादेनको भनाई थियो । उहाँको भनाई पाथीभरा केवलकार निर्माण र सोसंग सम्वन्धित आफ्ना धारणाको बचाउ केन्द्रित थियो ।
नगरप्रमुख मादेनले सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडामा निर्माण भएको फाल्गुनन्दको पूर्ण कदको सालिक र पाथीभरा मन्दिर परिसरमा स्थापित फाल्गुनन्दको सालिकका लागि आफ्नो ठूलो सहयोग रहेको दावी गर्नुभयो ।मादेनले केहि समय अघि ‘खराने’भनेर गरेको सम्बोधन धर्म र संस्कार बिरोधी अभिव्यक्ति भएको स्थानीय केहिले प्रश्न उठाएपछि मादेनले जवाफ दिनु भएको हो । कार्यक्रममा नगरप्रमुख मादेन,उपप्रमुख ओझा,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम,वडाध्यक्ष लिम्बू,कार्यपालिका सदस्य कमला खत्री,वडा सदस्यहरु प्रेम लिम्बू र पम्फा दमाई सहितको उपस्थिति थियो ।