दृष्टी फर्किएको खुसी–अनि बिष्णुमायाले बुहारी देखिन्,पूर्णबहादुरले भगवान पुकारे

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १ । ‘छोराले बुहारी ल्यायो भनेको त थाह पाएकी थिएँ,तर बुहारी देख्न पाएकी थिईन,तिमी बुहारी पो ! ठ्याप्पै दुबै आँखा बन्द भएको बर्षदिन पछि पहिलोपटक आँखा खुल्दा अगाडि आफ्नी बुहारी देखेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाकी बिष्णुमाया लिम्बू भक्कानिनुभयो । उहाँको आँखा बन्द हुँदा छोराको बिहे भएको थिएन । छोराले बुहारी ल्याएको कुरा उहाँले सुनेरै मात्रै थाह पाउनु भएको थियो । आवाजबाट बुहारी चिन्दै आउनु भएकी बिष्णुमायाले बर्षदिनपछि दुबै आँखाको शल्यकृया गरेर संसार देख्दा आफ्नै आँखा अगाडि बुहारी देख्नुभयो । भन्नुभयो‘आवाजले चिन्ने बुहारीलाई अब आफैंले देखेर चिन्ने छु’।

केहि समय देखि दुबै आँखा बन्द भएका फुङलिङ वडा नं ६ का पूर्णबहादुर भट्टराईले आँखाको शल्यकृयापछि पट्टी खोल्नासाथ अगाडि रहेको बिद्यालयको नाम सिलसिलेवार पढ्नुभयो । शल्यकृया गरिएका बिरामीको फुङलिङस्थित बाल मन्दिर आधारभूत बिद्यालयको खेल मैदान अगाडि एकसाथ पट्टी खोलिएको थियो । पट्टी खोल्नासाथ बिद्यालयको नाम प्रष्ट देखेपछि उहाँले आफुलाई पुर्नदुष्टी दिने डाक्टर सन्दुक रुइत र उहाँको जयजयकार गर्नुभयो । डाक्टर सन्दुकप्रति संकेत गर्दै उहाँले भन्नुभयो‘तपाँईलाई मानिसले यसै आँखाका भगवान भनेका रहेनछन्’। आँखाको शल्यकृया गरेका डाक्टर सन्दुक र उहाँका छोरा डाक्टर सागरले बिरामीको जयजयकारप्रति अभिवादन फर्काउनुभयो । डाक्टर सन्दुक दृष्टी फर्किएका आँखाका रोगीको बिचमा बस्नुभयो र आफ्नो टिमसंगै मुस्कुराउनुभयो । यो दृश्य देख्नासाथ शल्यकृया गरेका बिरामीका आफन्तले तालीले सम्मान व्यक्त गरेका थिए ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाको आयोजनामा कात्तिक ३० देखि फुङलिङमा सञ्चालित शल्यकृया सहितको आँखा शिविरका लागि डाक्टर सन्दुक नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोली अहिले गृह जिल्ला फुङलिङ केन्द्रित छ । आँखाको परीक्षण गर्न भने कात्तिक २९ बाटै थालिएको हो डाक्टर रुइतको जन्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोला हो । ओलाङचुङगोला नेपालको दुर्गम उत्तरी क्षेत्र तर मनोरम पर्यटकीय स्थल हो । करिव ५ सय बर्ष पुरानो दिकीछ्योलिङ गुम्बा देखि वालुङ समुदायको झुरुप्प बस्ति रहेको क्षेत्र ओलाङचुङगोलाबाट सदरमुकाम फुङलिङ आइपुग्न करिव तीन दिनको पैदल यात्रा पूरा गर्नुपर्छ । अहिले कच्ची सडक मार्ग बनेर यात्रा केहि सहज भएपनि बाह्रैकाल सवारी कुद्ने तहको भने छैन ।

दुर्गम क्षेत्रमा जन्मिएर आँखा स्वास्थ्य क्षेत्रमा विश्वमा नाम कहलिएका डाक्टर रुईत नेतृत्वको तिलगंगा आँखा अस्पताल,तिलगंगा फाउण्डेसन,सेवा फाउण्डेसन र फुङलिङ नगरपालिकासंगको सहकार्यमा ताप्लेजुङमा नेपाल नेत्रज्योति संघले यसपटक शल्यकृया सहितको आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका आइतबार मात्र करिव १ सय ७ जनाको आँखाको शल्यकृया गरिएको छ । ति मध्ये ६ जनाको दुबै आँखाको शल्यकृया गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । शिविरमार्फत करिव २ सय जनाको आँखाको शल्यकृया गर्ने योजना रहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङ बताउँनुहुन्छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा फुङलिङ र दोभान गरी ताप्लेजुङका दुई स्थान तथा पाँचथरको थर्पु बजार र यासोक बजार गरी दुई स्थान समेत गर्दा अहिले ४ क्षेत्रमा आँखा उपचार केन्द्र रहेका छन् । फुङलिङको डिचेन डोङ्गला बाहेक बाँकी ३ स्थानका आँखा उपचार केन्द्र सम्वन्धित क्षेत्रका पालिकाको आर्थिक साझेदारीमा सञ्चालनमा रहेको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो प्रत्यक्ष नियमनमा १ तथा समन्वयमा ३ गरी ४ वटा आँखा उपचार केन्द्र रहेकोले डिचेन डोङ्गलालाई आधारभूत आँखा अस्पतालको रुपमा स्तरोन्नती गरी फुङलिङबाट अब हरेक महिना शल्यकृया सहितको उपचार सेवा थाल्ने योजना बनाईएको नेपाल नेत्रज्योति संघले जनाएको छ । नेत्रज्योति संघले तिलगंगा फाउण्डेसनमार्फत डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शल्यकृया कक्ष(ओटी रुम)स्थापनाका लागि सहयोगको याचना सहित अनुरोधपत्र समेत बुझाएको छ ।

Similar Posts