सिरिजङ्गाको तेल्लोकमा ७ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३ । ताप्लेजुङको सिरिजङगा गाउँपालिकाको केन्द्र तेल्लोकमा जेठ २८ गते सञ्चालन भएको ७ दिवसीय उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सकिएको छ ।
सिरिजङ्गा गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१।८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन भएको तालिममा जनप्रतिनिधि,पालिकाका कर्मचारी,टोल विकास संस्थाका पदाधिकारी,महिला समूह,शिक्षक र बिद्यार्थी सहभागी थिए । पालिका क्षेत्रका सरोकारवालालाई लक्षित गरी तालिम सञ्चालन गरिएको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिनुभयो । तालिममा ३० जना सहभागी थिए ।
तालिमको समापन समारोहमा बोल्दै पालिका अध्यक्ष लालकृष्ण चौहानले सिरिजङ्गावासी सरोकारवालाको मागको आधारमा बार्षिक कार्यक्रममै समेटेर तालिम सञ्चालन गरिएको र तालिम फलदायी भएको आफुले पाएको बताउनुभयो । समापन समारोहमा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,सिरिजङ्गा गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष बमप्रसाद गौतम सहितको उपस्थिति थियो ।
तालिममा सहभागीमध्ये जनप्रतिनिधितर्फबाट कार्यपालिका सदस्य सीता भट्टराई दाहाल तथा वडा सदस्यद्धय चन्द्रप्रसाद भट्टराई र शर्मिला लिम्बू,कर्मचारीतर्फबाट बिष्णु मावो,टोल विकास संस्थाबाट उदयकुमार गौतम,महिला समूहतर्फबाट सुनिता अधिकारी भट्टराई र बिद्यार्थीकातर्फबाट शिशन लिम्बूले तालिमको उपलब्धी र औचित्यताको बिषयमा प्रष्ट पार्नु भएको थियो । तालिमको सहजीकरण पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले गर्नु भएको थियो ।