थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप पुरुष फुटबल प्रतियोगिता मंसिर १३ बाट,बिजेताले डेढ लाख पाउने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमामा यही मंसिर १३ गते देखि दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
चासोक तङनाम(न्वागी खाने पर्व)को अवसर पारेर चासोक तङनाम मूल सञ्चालन समिति थुकिमाले बुधवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो । आयोजक तङनाम मूल सञ्चालन समितिका अध्यक्ष बिशाल लिम्बूका अनुसार प्रतियोगिता मंसिर १८ गतेसम्म चल्ने छ । प्रतियोगिताका बिजेताले १ लाख ५० हजार र उपबिजेताले १ लाख रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजक समिति अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । समितिका कोषाध्यक्ष शेरबहादुर जोगीका अनुसार प्रतियोगितामा ५ हजार ५५५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत जोगीले जानकारी दिनुभयो । आयोजक समितिको कोषमा रहेको बचत रकम,स्थानीय सरकार,दाता महानुभावहरु र खेलप्रेमीहरुबाट संकलित रकमबाट प्रतियोगिता सम्पन्न गर्ने योजना रहेको जोगीले सुनाउनुभयो ।
प्रतियोगिताका रेफ्री संयोजक सुसन लङ्वा लिम्बूका अनुसार प्रतियोगितामा अहिलेको संरचना अनुसार कायम रहेका वडाका १५ वटा टिम सहभागी हुनेछन् । सहभागी टिममध्ये ३ वटा टिम आयोजकको हुने र बाँकी १२ वटा अन्य वडाबाट सहभागी हुन पाउने उहाँले बताउनुभयो । वडाबाट सहभागी खेलाडी सम्वन्धित वडाकै हुनुपर्ने समेत आयोजकले जानकारी दिएको छ । रेफ्री संयोजक लिम्बूका अनुसार मंसिर १३ गते पहिलोदिन २ वटा खेल हुँदा १४,१५ र १६ गते ३–३ वटा,१७ गते सेमी फाईनलका २ वटा खेल हुँदा १८ गते फाईनल खेल हुने छ । प्रतियोगितामा सहभागी हुन चाहने वडा स्तरीय टोलीले मंसिर ११ गते अपरान्हसम्ममा नाम दर्ता गराईसक्नुपर्ने र सोहिदिन साँझ ५ बजे खेल तालिका प्रकाशन गर्ने योजना रहेको समेत रेफ्री संयोजक लिम्बूले जानकारी दिनुभयो ।
स्थानीय लोकेश लोङ्वा लिम्बूका अनुसार ऐतिहासिक र साँस्कृतिक हिसावले महत्वपूर्ण साङ्धुङ्गे क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । उहाँका अनुसार लिम्बू किम्वदन्ती अनुसार साङ्धुङ्गे भन्ने व्यक्ति मेरिङेदेनतर्फ आउने क्रममा १२ वटा लिम्बू थरी पुगेका छन् । थुकिमा क्षेत्रमा रहेका लिम्बू समुदायका बिभिन्न १२ थरगत समुदायले आफुहरुलााई साङ्धुङ्गेका सन्तानको रुपमा लिने गरेको उहाँले दावी गर्नुभयो ।
लिम्बू समुदायको माङ्गेना यकमा भेला भएर पूजाआजा गर्ने स्थलको रुपमा समेत साङ्धुङ्गे क्षेत्र परिचित रहेको छ । लिम्बू संस्कार संस्कृतिका आधारित रहेपनि उक्त क्षेत्र सबै जातजाति,धर्म,संस्कार र संस्कृतिको एकताको प्रतिकको रुपमा र धार्मिक एवम् साँस्कृतिक हिसावले महत्वपूर्ण स्थल रहेको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उपयुक्त देखिएकोले त्यसका लागि खेलकुदलाई माध्यम बनाईएको समेत उहाँले जानकारी दिनुभयो ।