मिक्वाखोलाको सार्वजनिक सुनुवाईमा उठ्यो बाँदर नियन्त्रण देखि बर्षायाममा पूर्वाधारका काम नगर्ने सम्मका कुरा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २२ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका नागरिकले बाँदर नियन्त्रण देखि माटो सुहाउँदो खेति प्रणाली सुरु गर्न माग गरेका छन् ।

नागरिकको गुनासो,राय तथा सुझाव ग्रहण गर्न मिक्वाखोला गाउँपालिकाले वडागत रुपमा आयोजना गरेको कार्यक्रममा नागरिकहरुले बर्षायामको अवधिमा पूर्वाधारका कामहरु नगर्न तथा वडा तहका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरुलाई समेत अनुगमनमा संलग्न गराउन माग गरेका छन् ।

मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका काजीमान लिम्बूले खेति बाँझो राखे कारवाही गर्ने बिषय पनि यदाकदा आउने भएकोले खेति किन बाँझो राखियो भने बुझिदिन स्थानीय सरकारमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरे ।‘बाली लगायो भने बाँदरले खाएर हैरान पार्छ,अनि खेत बाँझो हुने नै भयो नी !’लिम्बूले भन्नुभयो । लिवाङकै फिपराज लिम्बूले समय छउञ्जेल पूर्वाधारका काममा चासो नदिने अनि बर्षायाम सुरु भएपछि सडक खोतल्ने थाल्ने प्रवृत्तिले पहिरोको समस्या झन् विकराल हुने भएकोले यसो हुन नदिन पालिका सचेत हुनुपर्ने बताउनुभयो । बर्षा लागेपछि सडक निर्माण गर्न थालिए पालिकाले नियन्त्रण गर्नुपर्ने नभए गाउँलेले आफैं त्यसका लागि अग्रसर हुने उहाँको चेतावनी थियो ।

लिवाङका पूर्व वडाध्यक्ष समेत रहनु भएका दीपेन्द्र लिवाङले वडामा सञ्चालित प्रत्येक योजनामा वडापालिकाका सबै जनप्रतिनिधि र सकेसम्म क्रियाशिल राजनीतिक दल समेतको अनुगमन संयन्त्र बनाउँदा अनुगमन प्रभावकारी हुने सुझाउनुभयो । मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका श्रीजंग थलङले माटो परीक्षण नगरी खेति लगाउँदा उत्पादनमा कटौति हुनेतर्फ पालिकाको ध्यानाकर्षण गराउनुभयो । वडा नं २ का गणेशप्रसाद थापाले योजना सञ्चालन गर्नुअघि सम्वन्धित योजनाको रकम र लाभान्वित क्षेत्रबारे वडा र पालिकाले नागरिकलाई जानकारी गराउनुपर्ने सुझाव दिनुभयो । उहाँले योजनाको पारदर्शीता कायम हुनुपर्नेमा जोड दिँदै जनप्रतिनिधिले गर्छु भनेको काममा टाउको हल्लाएर हिड्ने मात्र होईन,टाउको हल्लाएपछि पूरा पनि गर्नुपर्ने बताउनुभयो । वडा नं २ कै हरिप्रसाद बस्नेतले सडकको भाडादर समयानूकुल बनाउन सम्वन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सेवा प्रवाहबारे पालिकाका भरीका नागरिकको राय बुझ्न तथा सेवा प्रवाह बारे जनताको गुनासो ग्रहण गर्न मिक्वाखोला गाउँपालिकाले पालिकाका ५ वटै वडामा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले पालिका र मातहतका निकायमार्फत प्रदान भएको सेवा बारे जनतामा भावना बुझ्न र समस्या भए त्यसलाई सुधारेर अघि बढ्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना भएको बताउनुभयो । ‘गल्ती भए सच्याउने,भूल भए क्षमा दिने र अपराध भए दण्डित हुने प्रणालीको विकासका लागि सार्वजनिक सुनुवाई कार्यक्रम अघि सारिएको उहाँको भनाई थियो ।

पालिका अध्यक्ष भक्तबहादुर कार्कीले नागरिकहरुले सेवा प्रवाहमा झेलिरहेको समस्या,भोगिरहेको कठिनाई र सेवा प्रवाह थप चुस्त बनाउन नागरिककै सल्लाह ग्रहणका लागि वडागत सार्वजनिक सुनुवाई सञ्चालन गरिएको जानकारी दिनुभयो । पालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले नागरिकहरुका साझा समस्या के हुन् र पालिका तथा मातहतका निकायबाट प्रदान भएको बस्तु तथा सेवा नागरिकको घरदैलोमा पुग्यो की भनेर जनताकै माझबाट सुन्न चाहने र समस्या देखिए आगामी दिनमा सुधारेर सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउने अभिलाषाका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

पालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार पालिकाको वडा नं ५ पापुङबाट सुरु भएको सार्वजनिक सुनुवाई,वडा नं ४ साँवा,वडा नं ३ लिवाङ,वडा नं २ खोक्लिङ र वडा नं १ खोक्लिङमा आएर सकिएको छ । पालिकाले सार्वजनिक सुनुवाईलाई कार्यविधि अनुसार नियमित र निरन्तर गर्नेगरी योजना बनाएको बताएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts