सन्दीपा ताप्लेजुङको तेस्रो महिला सहायक प्रजिअ,भट्टराई संघीय राजधानी जाने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । नेपाल सरकारका शाखा अधिकृत सन्दीपा खड्का ताप्लेजुङको तेस्रो महिला सहायक प्रमुख जिल्ला अधिकारी बन्नु भएको छ ।

विगत अढाई बर्षदेखि ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालिईरहनु भएका टंकबहादुर भट्टराईको राष्ट्रिय महिला आयोगमा सरुवा भएपछि सन्दीपा ताप्लेजुङको सहायक प्रजिअको कार्यभार सम्हाल्न फुङलिङ आइपुग्नु भएको हो । गृह मन्त्रालयको पहिलो अनुभवका रुपमा उहाँलाई ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्राप्त भएको छ । खड्का यसअघि नायव सुब्बा हुँदा जिल्ला हुलाक कार्यालय पाँचथरमा कार्यरत रहनु भएको थियो ।

। गृहमा पहिलो पटक प्रवेश गर्नुभएकी खड्काका लागि सहायक प्रजिअ समेत पहिलो अनुभव हुने छ । खड्काले प्रमुख जिल्ला अधिकारीको मार्गदर्शन,विगतका सहायक प्रजिअहरुको अनुभव र आफुमा भएको सीप प्रयोग गरेर आफ्नो कार्यकाल सम्झनायोग्य बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले कानुनी र व्यवहारिक दुबै हिसावले हेरर कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाउँदै सेवाग्राहीलाई अनावश्यक दुःख दिन नहुनेमा आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

यसअघिका सहायक प्रजिअ भट्टराईले ताप्लेजुङमा रहँदा राष्ट्रसेवाका अलवा ताप्लेजुङको पर्यटन प्रवद्र्धनका लागि बिभिन्न गीत–संगित र साहित्य सृजनामार्फत योगदान दिनु भएको थियो । ताप्लेजुङमै रहँदा उहाँले‘ठाँटीका घाम’नाम रहेको चर्चित उपन्यास प्रकाशन गर्नु भएको थियो । यो पुस्तक निकै चर्चामा रहयो । यस्तै ‘ताप्लेजुङको शीरैमा सेतो जुहार…..’नामको गीत अहिले ताप्लेजुङलाई चिनाउने एक सांगीतिक माध्यम बन्दै आएको छ ।

साहित्यिक सर्जक समेत रहनु भएका भट्टराईले यहाँ सञ्चालित रेडियो कावेलीमार्फत‘काबेलीका लहरहरु’नामको कार्यक्रम समेत सञ्चालन गर्नु भएको छ । उहाँले ‘दिलमायाको चिया दोकान’ देखि पर्यटकिय स्थल ओलाङचुङगोलालाई चिनाउन गीतको रचना गर्नुका साथै तीनवटै गीतको म्युजिक भिडियो समेत बजारमा ल्याउने प्रयास गरिरहनु भएको छ । सन्दीपा अगाडि ताप्लेजुङको पहिलो महिला सहायक प्रजिअमा गीत राई इङनाम र दोस्रो महिला सहायक प्रजिअको रुपमा गायत्रा अधिकारी खड्काले जिम्मेवारी सम्हालिई सक्नु भएको छ । उहाँहरुमध्ये राई सेवा निवृत्त हुनु भएको छ भने अधिकारी कार्यरत रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts