ताप्लेजुङ विपद् व्यवस्थापन समितिद्धारा चालू आवका लागि विपद् प्रतिकार्य योजना पारित

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १८ । जिल्ला विपद् व्यवस्थापन समितिले चालू आर्थिक बर्ष २०८१।८२ का लागि मनसुन,आगलागी,चट्याङ,महामारी र आँधी सहितको विपद् प्रतिकार्य योजना पारित गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले उक्त प्रतिकार्य योजना पारित गरेको समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले २०८० चैत १६ गते बसेको वैठक पश्चात बितरण गरिएको विपद् राहत रकम समेत अनुमोदन गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार २६ पहिरो पीडित,१० आगलागी पीडित र एक हावाहुरी पीडित गरी ३७ घर परिवारलाई राहत वापत १० लाख ५५ हजार रुपैयाँ बितरण गरिएको छ । ५ जना वा सो भन्दा कम पीडित सदस्य भएको परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले तथा ५ जना भन्दा माथि सदस्य भएका पीडित घरधुरीलाई प्रति परिवार २० हजार रुपैयाँका दरले राहत रकम बितरण गर्ने गरिएको छ ।

विपद् व्यवस्थापन समितिले सिरिजङ्गा गाउँपालिकाका ६२ लाभग्राही घर परिवारका लागि पुर्ननिर्माण तथा पुर्नस्थापनाका लागि कोशी प्रदेश सरकारबाट प्राप्त भएको सम्झौता वापतको ३० प्रतिशत प्रथम किस्ता अनुदान प्रतिपरिवार १५ हजार रुपैयाँका दरले ९ लाख ३० हजार रुपैयाँ समेत अनुमोदन गरेको छ । सिरिजङ्गा गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त भएको १५ हजार रुपैयाँमा थप उत्तिकै रकम थप गरी पहिरोबाट पूर्ण बिस्थापित परिवारलाई प्रति परिवार ३० हजार रुपैयाँका दरले राहत रकम दिएको थियो । यस्तै मनसुनजन्य विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०७७ अनुसार जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भएका लाभग्राही परिवार सदस्यलाई पुर्ननिर्माण तथा पुर्नस्थापना आवासका लागि सिरिजङ्गा गाउँपालिकाको प्राविधिक निरीक्षण फारमका आधारमा ३९ परिवार लाभग्राहीलाई दोस्रो किस्ता अनुदान प्रति परिवार १ लाख रुपैयाँका दरले ३९ लाख रुपैयाँ समेत अनुमोदन गरेको छ ।

पुर्ननिर्माण तथा पुर्नस्थापना आवासका लागि संघबाट ६० प्रतिशत,प्रदेशबाट ३० प्रतिशत र सम्वन्धित स्थानीय तहबाट १० प्रतिशतले व्यहोर्नुपर्ने प्रावधान रहेको छ । भुक्तान भएको प्रतिपरिवार १ लाख रुपैयाँमध्ये प्रदेश सरकाबाट प्रतिपरिवार ७५ हजार रुपैयाँ र सिरिजङ्गा गाउँपालिकाबाट प्रतिपरिवार २५ हजार रुपैयाँ रहेको समेत जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यस्तै नपाल सरकार गृह मन्त्रालय अन्तरगत विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त विपद् राहत सामग्रीमध्ये सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका पीडित परिवारलाई बितरण गरी केहि राहत सामग्री जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले बुझीलगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts