आगामी आवको शैक्षिक नीति तथा कार्यक्रम तय गर्न आठराई त्रिबेणीद्धारा पालिकाभरीका बिद्यालयका प्रअसंग छलफल

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने सुझाव माग गर्न ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिका भरीका बिद्यालयहरुका प्रधानाध्यापकको भेला बोलाई छलफल गरेको छ ।

नीति तथा कार्यक्रमको अन्तिम तयारीमा रहेको पालिकाले सम्वन्धित बिद्यालयहरुमा समावेश गर्नुपर्ने योजना तथा नीति बारे सुझाव माग गर्न यस्तो भेला बोलाईएको पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो । आठराई त्रिबेणी गाउँपालिका भरीका ३१ वटा बिद्यालयहरुका प्रधानाध्यापक भेलामा सहभागी भएका छन् । पालिकाले यो भेलामार्फत पालिकाभरीका बिद्यालयहरुमा समावेश गर्नुपर्ने योजना तथा शैक्षिक नीतिहरुका बिषयमा प्रधानाध्यापकहरुको राय माग्ने छ । बिद्यालयहरुका प्रधानाध्यापकबाट प्राप्त रायहरुलाई आगामी आवको नीति,कार्यक्रम र बजेटमा समावेश गरिने पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।

पालिकाले चालू आर्थिक बर्षभरीको सेवा प्रवाह बारे जनताको गुनासो र आगामी आवको बजेट बारे जनताको सुझाव ग्रहण गर्नेगरी पालिकाका प्रत्येक वडामा पुगेर राय लिइरहेको छ । पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले असार ४ गतेबाट सुरु भएको जनताको गुनासो तथा सुझाव ग्रहण गर्ने कार्यक्रम शनिवार पालिकाको केन्द्र रहेको वडा नं ३ हाङपाङमा आएर पूरा हुने जानकारी दिनुभयो । पालिकाले बिषयगत सेवा प्रवाहको क्लष्टर बनाई आगामी आवको बजेट बारे सुझाव लिइरहेको र आइतवार सम्ममा अन्तिम रुप दिई कार्यपालिकाबाट अनुमोदन गराई सोमवार सभामा पेश गर्ने कार्यसूची बनाएको छ ।

पालिका अध्यक्ष पोमू केहि साता अघि सम्पन्न शैक्षिक भेलाबाट प्राप्त निश्कर्ष तथा पालिकाभरीका बिद्यालयहरुका प्रधानाध्यापकबाट प्राप्त सुझावका आधारमा आगामी आवको शैक्षिक योजना तथा कार्यक्रम तय हुने बताउनुहुन्छ ।‘बिद्यालयको वास्तविक समस्या के छ,कस्तो शैक्षिक नीति आवश्यक छ भनेर प्रधानाध्यापकले दिएका सुझावका आधारमा शैक्षिक नीति,कार्यक्रम र बजेट बन्ने हो भने त्यो वास्तविक र परिणाममुखी हुने ठान्यौं’पालिका अध्यक्ष पोमूले भन्नुभयो । पालिकाले प्रत्येक बिद्यालयलाई प्रशासनिक खर्च समेत उपलब्ध गराउने गरेको छ भने प्रधानाध्यापकलाई मासिक भत्ता समेत उपलब्ध गराउँदै आएको पालिकाका शिक्षा शाखा प्रमुख सुरेश पुरीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts