|

मेची राजमार्ग स्तरवृद्धि गर्न सडकको सर्वेक्षण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २९ । ताप्लेजुङस्थित मेची राजमार्ग स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडा १५ मिटर कायम हुनेगरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो ।
मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङ बजार सुकेटार खण्डमा स्तरवृद्धि गर्न सडकको सर्वेक्षण (नापजाँच) गरिएको छ । सडक डिभिजन इलामले राजमार्ग स्तरवृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो ।
सडक डिभिजन इलामका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङ बजारको हेलिप्याडदेखि सुकेटारसम्म करिव १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ । हेलिप्याड बजार प्रवेशद्वारदेखि गएको बुधबार सुरु गरिएको सर्वेक्षणको काम सोमबार सम्पन्न भएको सर्वेक्षक आचार्यले जानकारी दिनुभयो । सर्वेक्षणको काम सम्पन्न भएपछि प्रतिवेदन तयार पार्ने र सडक डिभिजनलाई बुझाउने उहाँले बताउनुभयो ।
राजमार्ग स्तरवृद्धि गर्ने तत्कालका लागि बजेट नभए पनि सडक डिभिजनले योजना बनाएको उहाँले बताउनुभयो । सडक डिभिजनको योजनाअनुसार सर्वेक्षणको काम भएको र सर्वेक्षणको अन्तिम प्रतिवेदन तयार भएपछि राजमार्ग स्तरवृद्धि योजना तथा बजेटका लागि प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । राजमार्ग स्तरवृद्धि तत्काल गराउनेगरी फुङ्लिङ नगरपालिकाले पनि पहल गरिरहेको उहाँको भनाइ छ ।
यता राजमार्ग स्तरवृद्धि गर्ने योजनाअनुसार नै फुङ्लिङ बजारभित्र सडक मापदण्ड विपरितका संरचनाहरु यसअघि नै भत्काइएका छन् । सडक डिभिजन इलामले फुङ्लिङ नगरपालिकाको सहयोगमा सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका घर, टहरा लगायतका संरचनाहरु भत्काइएका हुन् । सडकको दाँयाबाँया १५–१५ गरेर ३० मिटर कायम हुनेगरी सडक मापदण्डभित्र बनाइएका संरचना हटाउने सडक डिभिजनको योजना थियो ।
सडक डिभिजनको उक्त योजना भए पनि फुङ्लिङ नगरपालिकाको समन्वयमा तत्कालका लागि सडकको दाँयाबाँया साढे सात मिटरका दरले १५ मिटर कायम हुनेगरी मापदण्डभित्र निर्माण भएका संरचनाहरु हटाइएका छन् । सडक फराकिलो बनाउनेगरी संरचना हटाएपछि चाँडै राजमार्ग स्तरवृद्धि तथा स्तरोन्नतिको काम थाल्नुपर्ने स्थानीयवासीले आवाज उठाउँदै आएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts