| | |

तरुलको बजार बन्यो शनिबारे हाट

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २८ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाट यसपटक तरुलको बजार झैं बनेको छ । मकर (माघे) सङ्क्रान्तिको संघारमा लागेको शनिबारे हाट तरुल किनबेच गर्नेका कारण तरुलको बजार झैं बनेको हो ।
सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थ्ति हटिया लाइनमा हप्ताको प्रत्येक शनिबार हाट लाग्ने गर्दछ । स्थानीय उपज (उत्पादनका वस्तु) बिक्री केन्द्रका रुपमा रहेको शनिबारे हाट यसपटक तरुलमय बनेको हो । तरुलको पर्वका रुपमा लिइने माघे सङ्क्रान्ति अर्थात माघ १ गते आउने मंगलबार हो । माघे सङ्क्रान्ति अघिको अन्तिम शनिबार भएकाले हाटमा तरुल खरिद बिक्री गर्नेको भीड लागेको हो ।
ग्रामीण भेगका किसानले उत्पादन गरेको विभिन्न प्रजातिका तरुल हाट बजारमा पु¥याएर बिक्री गर्ने गर्दछन् । गाउँका किसानले उत्पादन गरेको तरुल अर्गानिक हुनुका साथै स्वादिष्ट पनि हुने भएकाले गाउँबाट आएको तरुल बजारवासीको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम बजारवासीसँगै तरुल खेती नलगाउने गाउँका सर्वसाधारणसमेत हाटमा गएर तरुल खरिद गर्ने गर्दछन् । यसरी यसपटकको शनिबारे हाटमा तरुल बिक्री गर्ने र खरिद गर्नेको भिडभाड रहेको थियो ।
यता यसवर्ष तरुलको मूल्यभने विगतका वर्षभन्दा महंगो भएको उपभोक्ताले बताएका छन् । मकर सङ्क्रान्ति अर्थात तरुल खपत हुने मुख्य मौसममा तरुल मूल्य महंगिएको उपभोक्ता बताउँछन् । उपभोक्ताका अनुसार शनिबारे हाटमा प्रतिकिलोग्राम न्युनतम् ८० देखि २०० रुपियाँ सम्ममा तरुलको कारोबार भएको छ । मकर सङ्क्रान्ति मनाउनलाई महंगो मूल्य लगाएरै भए पनि तरुल किन्न बाध्य हुनु परेको उपभोक्ताको भनाइ छ ।
हाटमा बिक्री गर्न ल्याइएको तरुलको मूल्य स्थानीय व्यापारी र उत्पादक किसान आफैँले तोक्ने अर्थात निर्धारण गर्ने गर्दछन् । तरुलको जात र प्रजातिअनुसार मूल्य फरक–फरक हुने गरेको व्यापारी तथा किसानको भनाइ रहेको छ । हाट बजारमा घरतरुल, पताले तरुल, सिँदुरे तरुल, सिमले, स्कूसको तरुल र पिँडालुजस्ता तरुलका प्रजाति बिक्री गर्ने गरिएको छ । जिल्लामा व्यावसायिक तरुल खेती नहुने गरेकाले पनि चाडपर्वका समयमा मूल्य महंगो हुने गरेको बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts