| |

ताप्लेजुङमा निषेधाज्ञा भदौ १५ सम्म लम्ब्याइयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ८ ।
ताप्लेजुङमा आगामी साताको मङ्गलबारसम्म निषेधाज्ञाको समय थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको अवस्था कायम नै रहेकाले गत बैशाख २० गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै भदौ १५ गते मङ्गलबार सम्मका समय थप गरिएको हो ।
कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या नघटेको साथै जोखिम कायम रहेकाले निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथामको उपायस्वरुप निषेधाज्ञालाई निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख छ । यसअघिकै क्षेत्रभित्र र शर्तअनुसार कायम रहनेगरी निषेधाज्ञाको समय थप गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
आउँदो मङ्गलबार राती १२ बजेसम्म कायम रहनेसदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्नेसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–३ मा पर्ने लिङ्खिम वारि फुरुम्बु क्षेत्र, सिरिजङ्घा गाउँपालिका–३ सिकैँचा वारि फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको कामीडाँडा र काबेली खोलासम्म सीमा क्षेत्रभित्र निषेधाज्ञा लागू हुने जनाइएको छ ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने, भेला, सभा सम्मेलन, भोज लगायतका भीडभाड हुने गतिविधि गर्न नपाइने विज्ञप्तिमा जनाइएको । निषेधाज्ञामा औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसलहरु सरकारले तोकेको मापदण्ड अनुसारको सुरक्षा अपनाई २४ घण्टा नै खुल्ला रहने छ भने फुङ्लिङ बजार भने बिहान ६ बजेदेखि साँझ ५ बजे र होटलहरु बिहान ६ बजेदेखि राती ८ बजेसम्म खल्ला रहने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts