फुङ्लिङ नगरपालिकामा ११७ जना भूमिहीन

-प्रयास लिम्बू
ताप्लेजुङ, फागुन २९ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एकसय सत्र जना भूमिहीन रहेको पाइएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले फुङ्लिङ नगरपालिकामा मात्र उक्त सङ्ख्यामा भूमिहीन रहेका जनाएको हो ।
समितिले मंगलबार पत्रकार सम्मेलन गरी भूमिहीन सुकुम्बासीहरुको विवरण सार्वजनिक गरेको हो । फुङ्लिङ नगरपालिकामा सो सङ्ख्यामा वर्षौँदेखि लालपुर्जाविहीन रहेका भूमिहीनहरु फेला परेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले दुई वर्ष अघिदेखि आयोगले भूमिहीन परिवारको खोजी तथा विवरण संकलन गर्दै आएको र हालसम्म फुङ्लिङका मात्र ११७ जना भूमिहीन प्रमाणित भएका बताउनुभयो ।
प्रमाणीकरण भएका भूमिहीनमध्ये भूमिही दलित ३६ जना, भूमिहीन सुकुम्बासी ७० र अव्यवस्थित बसोबासी ११ जना रहेका छन् । फुङ्लिङ नगरपालिकामा १७३ जनाले आफूहरु भूमिहीन भएको भनी समितिसमक्ष निवेदन दिएका थिए । प्रमाणीकरण भएका फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई गत पुस २६ गते नै समितिले जग्गाको निस्सा वितरण गरेको थियो ।
यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि भूमिहीनको सङ्ख्या प्रमाणिकरणको प्रक्रिया जारी रहेको समिति अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिकामा पनि पालिकास्तरबाट २८ जना भूमिहीन प्रमाणीकरण भएका छन् । पालिकास्तरबाट प्रमाणीकरण भई उनीहरुलाई गाउँपालिकाले निस्सासमेत नितरण गरिसकेको छ । गाउँपालिकाद्वारा जग्गाको निस्सा वितरण गरिएको भूमिहीनको अन्तिम प्रमाणीकरण भने राष्ट्रिय भूमि आयोग जिल्ला समितिले गर्ने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।
यस्तै सिरिजंघा गाउँपालिकाले पनि आउँदो आइतबार स्थानीय स्तरमा प्रमाणीकरण भएका भूमिहीनलाई निस्सा वितरण गर्ने तयारी गरेको समितिले जनाएको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा पनि निस्सा वितरण गर्ने प्रक्रिया तीव्र रुपमा भइरहेको समितिका विज्ञ सदस्य बालहाङ याक्सोले जानकारी दिनुभयो । नौ स्थानीय तह रहेको जिल्लाका अन्य पालिकामा भने अझै भूमिहीनको सङ्ख्या प्रमाणीकरण गर्ने काम पूरा भइनसकेको याक्सोले बताउनुभयो ।
यता जिल्लाभरमा एक हजार ४३५ जनाले भूमिहीन भएकोभन्दै जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष निवेदन दिएका छन् । समितिले २०७९ साल पुस २२ गते सूचना प्रकाशित गरी भूमिहीनका लागि निवेदन आह्वान गरेको थियो । उक्त सूचनाको अवधिभित्र भूमिहीन दलित १९६ जना, भूमिहीन सुकुम्बासी ४२६ र अव्यवस्थित बसोबासीको ८१३ जनाले निवेदन दिएका थिए ।
कतिपय स्थानीय तहले तदरुकता नदेखाउँदा निवेदन दिएको लामो समय भइसक्दा पनि भूमिहीन प्रमाणीकरण गर्ने कार्यमा ढिलाइ भइरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आरोप रहेको छ । समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, भूमि आयोग जिल्ला समिति सदस्य-सचिव एवम् नापी कार्यालय प्रमुख रजिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।