नेरेसो ताप्लेजुङले सम्वन्धित पालिकाकै वडा केन्द्रित गरी उपशाखा गठनको प्रकृया अघि बढाउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाले सम्वन्धित पालिकाकै वडाहरु केन्द्रित गरी उपशाखा गठन गर्ने प्रकृया आरम्भ गर्ने भएको छ ।

फरक–फरक पालिकाका वडाहरु मिलाएर गठन भएका उपशाखाहरुलाई सम्वन्धित पालिकाको वडाहरुमै केन्द्रित गरी पालिकास्तरीय उपशाखा गठन गर्ने योजना अघि सारिएको नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका मन्त्री विकास गौतमले जानकारी दिनुभयो । संघीय संरचना अनुसार फरक–फरक पालिकाका वडाहरु मिलाएर उपशाखा गठन गर्न नपाइने व्यवस्था रहेको समेत गौतमले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको ४२ औं बार्षिक साधारणसभामा शुक्रवार बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै गौतमले सम्वन्धित पालिकाका वडाहरु मिलाएर उपशाखा गठन गर्ने प्रावधान अनुसार सम्वन्धित पालिका भित्रका उपशाखाहरुमा सदस्यता पञ्जीकरण गरिएको जानकारी दिनुभयो ।

नेरेसोको ताप्लेजुङ शाखा अन्तरगत २३ वटा उपशाखा र एउटा तर्दथ उपशाखा रहेको छ । नेरेसोका सबै तहका कार्य समितिको पदाधिकारी तथा कार्य समितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने तथा उपशाखा तथा पालिका शाखा गठन गर्दा ४० प्रतिशत महिला सदस्य अनिवार्य गर्ने प्रस्ताव समेत गौतमले साधारणसभामा पेश गर्नु भएको छ । नेरेसो ताप्लेजुङ अन्तरगत अहिले २ हजार ६ सय १२ आजीवन सदस्य,१ सय १८ बिशिष्ट सदस्य,११ यशस्कर सदस्य र ६१ पञ्जिकृत आजीवन सदस्य गरी कुल २ हजार ८ सय २ सदस्य रहेका छन् ।

बिभिन्न प्रकारका विपद्मा परेका परिवारलाई राहत तथा उद्धारका कार्यक्रमलाई नियमित गर्नेगरी साधारणसभाले आर्थिक बर्ष २०८२।८३ का गरिने महत्वपूर्ण कार्यक्रम समेत पारित गरेको छ । जसअनुसार उपशाखा गोष्ठी,जुनियर युवा रेडक्रस गोष्ठी,महिला सशक्तिकरण गोष्ठी,विपद् व्यवस्थापन पुर्नताजकी तालिम,प्राथमिक उपचार पुर्नताजकी तालिम,एचआईभी र एड्स जोखिम न्यूनीकरण गोष्ठी एक–एकवटा सञ्चालन गरिने छ भने एउटा नयाँ उपशाखा गठन गरिने भएको छ । उपशाखा स्तरमा स्वयंसेवक परिचालन,आचार संहिता अभिमुखीकरण,विपद् जोखिम न्यूनीकरण अभिमुखीकरण,नेतृत्व विकास तथा क्षमता विकास तालिम,आँखा तथा खाँत परीक्षण शिविर र रेडक्रस अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सभामा कोषाध्यक्ष दिनेश अधिकारीले आर्थिक बर्ष २०८०।८१ र २०८१।८२ को यर्थात तथा संशोधित आयव्यय एवम् २०८२।८३ को प्रस्तावित आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत गरेको विवरण अनुसार आव २०८०।८१ को यर्थात आय ५२ लाख २० हजार ८ सय २८ रुपैयाँ ८५ पैसा र २०८१।८२ को संशोधित आय ४० लाख ११ हजार ४ सय ३२ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै २०८२।८३ को प्रस्तावित आय ६१ लाख ४२ हजार ८ सय २३ रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सल्लाहकार तथा जेष्ठ आजीवन सदस्य खड्गबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा भएको सभा जिल्ला सभापति इन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Similar Posts