ताप्लेजुङका दुई सहित २०६ स्थानीय तहमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना सञ्चालन हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १७ । ताप्लेजुङका दुई सहित २ सय ६ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमसंगै युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना पनि सञ्चालन गरिने भएको छ ।

ताप्लेजुङका पाथीभरा याङवरक र सिरिजङ्गा गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना सञ्चालन हुन लागेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक बर्ष २०८०।८१ का लागि युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना सञ्चालन गर्ने स्थानीय तहको सूची सार्वजनिक गरेको छ । जस अनुसार ताप्लेजुङका उल्लेखित दुई,पाँचथरका याङवरक गाउँपालिका,कुम्मायक गाउँपालिका,फालेलुङ गाउँपालिका,फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका रहेका छन् । संखुवासभाका धर्मदेवी नगरपालिका र सिलिचोङ गाउँपालिकामा समेत यो कार्यक्रम सञ्चालन हुने भएको छ ।

युवा रोजगारीका लािग रुपान्तरण पहल आयोजनाको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (सञ्चालन तथा व्यवस्थापन)कार्यविधि, २०७९ बमोजिम हुनुपर्नेछ । रोजगारी सिर्जना अन्तरगत विनियोजना बजेटलाई कार्यविधिको दफा २३ बमोजिमको रोजगार आयोजना तथा परिच्छेद पाँच अन्तरगतको सीप विकास तथा जीवन उपयोगरी तालिम सञ्चालन गरी अधिकतम ४० जनालाई एक सय दिनको रोजगारीमा संलग्न गर्नुपर्नेछ ।

स्थानीय तहमा ५० दिनको स्थानीय पूर्वाधार मर्मत अन्तगतका आयोजना मार्फत ५० दिनको कार्यस्थलमा आधारित सीप विकास तालिम र जीवन उपयोगी तालिम सञ्चालन हुने गरी रोजगारमुलक आयोजना तजुमा गर्नुपर्नेछ । सीप विकास तालिम सञ्चालन गर्न इच्छुक अन्य स्थानीय तहको विवरण माग गरिने र त्यसको आधारमा सीप विकासका कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

सीप विकास तालिम सञ्चालन गर्न इच्छुक स्थानीय तहले तालिम सञ्चालनका लागि प्रत्येक श्रमिकको ५० दिन बराबर ज्याला रकम सञ्चित राख्नुपर्नेछ । तालिम सञ्चालनका लागि सेवा प्रदायकको छनौट र तालिम सञ्चालनका लागि आवश्यक पर्ने सेवा प्रदायकको खर्च श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्था गर्नेछ । तोकिएको स्थानीय तहमा नमूना रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्नेछ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts